सबै महिलाले आफूमा प्रेमाको रुप पाउँछन्ः शुभेक्क्षा खड्का

...

चैत, काठमाडौँ । अभिनेत्री शुभेक्क्षा खड्का अभिनित चलचित्र ‘प्रेमा’ यहि चैत १७ अर्थात आगामी शुक्रबारबाट प्रदर्शन हुने क्रममा छ । निर्माण टिमले आज (बुधबार) साँझ काठमाडौँमा प्रिमियर शोको आयोजना गरेको छ । अभिनेत्री शुभेक्क्षाले चलचित्रमा आफूले निभाएको ‘प्रेमा’को चरित्र शान्त र सरल रहेको बताउँछिन् ।

उनी भन्छिन्, ‘प्रेमा चरित्र हरेक महिलासँग मेल खान्छ । चलचित्र हेरिरहँदा सबै महिलाले आफूमा प्रेमाको रुप पाउँछन् । प्रेमा मिठो खालको कथा हो । चलचित्र कलरफूल र साधारण बनेको छ ।’ शुभेक्क्षाका अनुसार चलचित्र ‘प्रेमा’ उनकै भनाईमा दर्शकका लागि ‘सरप्राइज प्रेमकथा’ हो । ‘ट्रेलर रिलिज भएपछि आम मानिसमा चलचित्र प्रतिको जुन चासो छ, त्यो चासो नै चलचित्रको ‘सरप्राइजिङ’ कुरा हो । जुन कुरा कसैले सोचेको छैन’, उनी भन्छिन्, ‘त्यो सरप्राइजिङ फ्याक्टर देखेपछि दर्शकले कसरी रियाक्ट गर्नुहुन्छ भन्ने कुरामा उत्साहित छु ।’

subeksha-khadka.jpg
 
वास्तविक जीवनमा शुभेक्क्षा सहरीया संस्कृतिमा हुर्किएकी हुन् । बोलिरहन मनपराउने उनी आफूलाई ‘लाउड पर्सन’ मान्छिन् । तर ‘प्रेमा’ चरित्र उनीभन्दा फरक छ । ‘प्रेमा अलिक लजालु छे । यो चलचित्रमा मलाई काम गर्न केही समय लाग्यो । किनकी पहिला त प्रेमाजस्ती देखिनका लागि लुक्समै फिट गराउन समय लाग्यो । एक दुई दिन त म राम्री देखिएँ या देखिइन भन्नेमा अन्योल थियो’, शुभेक्क्षा भन्छिन् ।

चलचित्र गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेता अरुण क्षेत्रीले अभिनेत्रीद्वय शुभेक्क्षा र सृष्टि श्रेष्ठसँग रोमान्स गरेका छन् । चलचित्र ‘ज्याकीः आइ एम ट्वान्टी वान’बाट अभिनयमा डेब्यू गरेका अरुणको चलचित्र ‘महापुरुष’ले रिलिज भएर पनि सफलताको स्वाद चाखिसकेको छ । ‘महापुरुष’ले सफलता पाए पनि आफूलाई कुनै दबाब अनुभव नभएको अरुण बताउँछन् ।

चलचित्र गोविन्द र विवेक घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ । चलचित्रमा सामर्थ विक्रम थापाको कार्यकारी निर्माण छ ।