चैत, काठमाडौँ । चलचित्र ‘बहाव’को टिमले दोस्रो गीत सार्वजनिक गरेको छ । यहि चैत २४ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रको सार्वजनिक उक्त ‘बहाव यी मनका’ बोलको शिर्ष गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र बिषय आचार्यको एरेन्ज रहेको छ ।
अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भूमिका रहेको चलचित्रको यस गीतमा चलचित्रका प्रमुख पात्रहरू कथाको भावनालाई प्रस्तुत गरिएको छ । चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । यस गीत मार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव ब्यक्त्त गरिएको छ । बहाव घर घरको कथा हो । एउटा परिवारको मनोविज्ञानलाई सुरक्षा र कमलमणिबिचको अन्तरद्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ ।
यस गीतकाबारेमा संगीतकार सापकोटाले भने, यो एउटा अप्रत्याशित तवरले बनाइएको गीत हो । यो गीत दर्शक श्रोताकालागि माया भावसंगैको बहावसँग वियोगान्तसम्म पुर्याउछ भन्ने लागेको बताए ।
यस्तै, गायक चौलागाईं भन्छन्, ‘मानिसहरूको अन्तर मन भित्रको वेदनाहरू र जिन्दगीसँग निसासीको एउटा व्यक्तिको मन भित्रको बहावलाई यो गीत मार्फत व्यक्त गर्ने खोजिएको गीत हो । मैले गीत गाउँदा शब्दको भाव मै डुबेर गाएको थिए । मलाई आशा छ दर्शक श्रोताहरूले पनि यो गीत मन पराउनु हुन्छ ।’
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।
यस चलचित्रका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वतन्त्रता आफैँमा कैद गर्नेहरूका लागि मार्ग प्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताएका छन् ।
चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।