हरिवंशको फोन आउँदा झस्किएका थिए आयुष

...

गोपिकृष्ण चापागाईं/ चैत, काठमाडौँ ।

आज भन्दा चारबर्ष अघिको कुरा हो, वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य एक सुटिङमा ब्यस्त थिए । सुटिङ कस्तो हुँदा रहेछ भनेर हेर्ने र केहि सिक्ने उद्देश्यले सोहि ठाउँमा पुगेका थिए १६ बर्षिय ठिटो आयुष गौतम । 

सानैदेखी अभिनय र नृत्यमा रुचि राख्ने आयुषलाई सुटिङ कसरी गरिन्छ होला, कलाकारले कसरी अभिनय गर्छन्, खिच्ने क्यामेरा कस्ता हुन्छन् भन्ने सिक्नु थियो । त्यसैले चिनेजानेका साथीलाई सुटिङ भएको ठाउँ सोध्थे र हेर्न पुग्ने गर्थे । 

त्यहि क्रममा भेटिएका अभिनेता हरिवंश आचार्य आयुषका लागी भगवान बनेर आइदिए । आफू जुन उद्देश्य लिएर बिभिन्न सुटिङमा पुग्थे त्यो उद्देश्य पुरा गरिदिने काम अभिनेता हरिवंशले गरिदिएको सुनाउँछन् । आयुषले सुटिङको ब्रेकको समय मिलाएर हरिवंशलाई आफ्ना कुरा राखे । आफू कलाकार बन्न चाहेको र यसैगरि केहि सिक्ने उद्देश्यले सुटिङ हेर्न आइरहने भन्दै आफ्नो बारे आयुषले बिस्तृतमा सुनाए । हरिवंशले पनि केहि गर्न चाहेको युवाको हुटहुटी देखेर केहिबेर सुनिदिए । ‘हुन्छ हामी एकदिन अवश्य भेट्नेछौं’ भनेर एकअर्काको फोन नम्बर साटेपछि हरिवंश आफ्नो ‘टेक’मा ब्यस्त भए ।
ayush-gautam.jpeg                                                                             महसञ्चारले निर्माण गरेको सर्ट फिल्म ‘बिहे पक्का भो’को छायांकनको एक दृश्य (तस्बिर स्रोतः आयुष गौतम)

आयुषले हरिवंशलाई भेट्नु अघि अभिनय र नृत्यका बिभिन्न कक्षा लिएका थिए । नवलपरासीको बेलहियामा जन्मिएका उनी चितवनमा हुर्किएका हुन् । उनी सानै देखी नृत्य गर्थे । दुईबर्ष अघि चितवनमा नृत्यको प्रशिक्षक पनि बने । उनले चितवनको इन्फिनिटी डान्स स्टुडियोमा नृत्य सिकाउँथे । अहिले काठमाडौंको बाँसबारीमा दिदीसँग बस्दै आएका आयुषले अभिनयका बिभिन्न क्लास इन्टरनेटबाटै पनि लिने गर्छन् । आयुषलाई दिदी श्रेयाको साथ छ । भाईलाई राम्रो कलाकार बनाउने श्रेयाको पनि चाहना छ ।

काठमाडौंमा बस्दै जादा नृत्यमा पनि अझै धेरै सिक्नुपर्छ भन्ने लागेर चर्चित डान्स क्रु ‘कार्टुन क्रु’सँग एकमहिना नृत्य सिके । त्यसपछि नै हो उनी काठमाडौंमा हुने बिभिन्न सुटिङमा हिड्न थालेको ।
अभिनेता हरिवंशलाई भेटेको दुईमहिनापछि आयुषको मोबाइलमा घण्टी बज्यो । आयुषलाई विश्वास नै थिएन त्यो फोन हरिवंशकै हो भनेर । हरिवंशले ‘एउटा काम छ मलाई भेट्नु’ भनेपछि आयुषको खुसीको सिमा रहेन । ‘मैले पहिलो भेटमा सबैकुरा राखेको थिएँ । उहाँले म प्रति राखेको सकारात्मक कुराले मलाई विश्वास त थियो । तर मैले जस्तै धेरैले भेट्छन् होला त्यसैले फोन आउला भन्ने लागेको थिए । तर एक्कासी फोन गरेर बोलाउनु भयो । मेरो लागी भगवान हुनुहन्छ हरिवंश बा’, आयुष भन्छन् । ‘एक सिरियलका लागी मलाई बोलाउनु भएको रहेछ । निकै खुसी लाग्यो ।’

aayush-gautam-photos.jpg

आयुषले हरिवंशलाई गुरु मान्छन् । उनले बा.. भनेर बोलाउने गर्छन् । उनले मह सञ्चारले निर्माण गरेको सर्ट फिल्म ‘बिहे पक्का भो’मा अभिनय गर्ने मौका पाए । त्यो पनि वरिष्ठ अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग एउटै स्क्रिनमा । आयुष अघि भन्छन्, ‘मेरो गुरु नै हरिवंश बा हुनुहुन्छ । अहिले पनि हरेक कुरामा सल्लाह लिन्छु । के गर्दा ठिक हुन्छ, कसरी अघि बढ्ने सबैकुरामा सल्लाह माग्छु ।’

आयुषले एकबर्ष अघि थिएटरमा अभिनय पनि सिके । बिभिन्न चलचित्रका लागी कुरा भइरहेको बताउँछन् । साथै केहि म्युजिक भिडियोका लागी कुरा अघि बढेको सुनाए । कुनैपनि काममा दत्तचित्त भएर लाग्यो भने अवश्य सफलता हासिल गरिन्छ भन्ने विश्वास राख्छन् उनी । तत्काल धेरै कामको अफर नआएपनि आफूमा विश्वास राखेका छन् । ‘मैले आफूले जानेको काममा पुर्णता दिन सक्छु । त्यसैले मलाई विश्वास छ भोलीको दिनमा दर्शकलाई मेरो धरै काम देखाउन पाउनेछु । ’

तस्बिरः नबिन चापागाईं/ आर्टिष्ट खबर