‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक

...

बैशाख, काठमाडौँ । नेपालमा पहिलोपटक डान्सिङ ड्रामामा निर्माण भएको चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । यहि बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार धिरज मगर (ज्याकी)को डान्सर बन्ने सपना र उनका बुबाको लाउरे बनाउने सपनाबिचको द्धन्द्ध र संघर्षलाई देखाइएको छ । 

रेनशा राई रानाको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ । आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतका कलाकारको अभिनय छ ।

सुशान्त प्रजापतिको छायांकन रहेको चलचित्रमा सोमनाथ खनाल र रेनशा राई रानाको संवाद, निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा रोहित शाक्य, स्वप्निल शर्मा, कालिप्रसाद बाँस्कोटाको संगीत, द वाइल्र्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।

चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक रेनशा राई रानाले भनिन्–‘यो फिल्मले नेपाली समाजकै कथा भन्छ । अभाव, गरिबी, सपनाको दोसाधमा अल्झिएका यूवाहरुको कथालाई हामीले भन्ने कोशिश गरेका छौं । मलाई सधै नै चुनौती मनपर्छ । यो फिल्म पनि एउटा चुनौतीलाई स्विकार गरेको परिणाम हो ।’

नायक धिरज मगरले फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ दर्शकका लागि विल्कुलै फरक स्वादको फिल्म हुने बताए । उनले, यो चलचित्रका लागि आफूले ३ बर्ष दिएको र दर्शकले त्यो मिहिनेतलाई स्विकार गर्ने विश्वास व्यक्त गरे । नायिका जसिता गुरुङले पनि चलचित्रबाट आफूलाई आशा खुबै भएको बताइन् । फिल्ममा ‘रुबी’ पात्रको भूमिकामा देखिएकी जसिताले यो फिल्मले एउटा यूवतीको सपना भन्ने बताइन् ।

चलचित्रको ट्रेलर हेर्दा यसको मेकिङ उच्च देखिएको छ । कथावस्तुका हिसाबले पनि फिल्म सशक्त देखिएको छ । यसैले, फिल्म हेर्दा दर्शकले नयाँ कथामा आफूलाई ढाल्ने विश्वास व्यक्त गर्न सकिन्छ ।