चलचित्र ‘बिहे पास’मा दर्शक बढ्दै

...

बैशाख, काठमाडौँ । नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको चलचित्र ‘बिहे पास’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । श्रीमति तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र प्रत्यत्नको बिषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको चलचित्रले आम नेपाली युवाको पीडा बोलेको छ । 

संचारकर्मीबाट पनि अब्बल प्रतिक्रिया पाएको चलचित्रमा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा छन् भने उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरो बनेका बिशाल पहाडी सरकारी अधिकृत छन् । चलचित्रले सरकारी जागिरको कुरा मात्र होइन, नेपाली जनजीवनका बिबिध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ । नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी, कर्मचारीको घुस्याहा मनोबृति,लोकसेवा पास गर्न आर्थिक चलखेल,प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न बिबिध हतकन्डा अप्नाउने डनगिरीलगायतका बिबिध बिषयलाई समेटेको छ । हाँसो, रोमान्स, यथार्थता तथा सेन्टिमेन्टस्को समेत समुचीत संयोजन रहेको चलचित्रलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन् । उनले यसअघि निर्देशन गरेको डेब्यु फिल्म ‘अमेरिका ब्बाइज’ ले पनि तारिफ पाएको थियो । 

kaidiko-patra.jpeg

नयाँ बर्षको पहिलो र दोश्रो दिन ‘बिहे पास’ ले देशभर हाउसफूलको ब्यापार गरेको थियो भने त्यसपछिका दिनमा पनि दर्शकको राम्रो साथ पाइरहेको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् । उनले आइतबारसम्मको ब्यापारबाट आफूहरु नाफामा गइसकेको बताएका छन् । 

चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा सुभाष गजुरेल, श्याम राई, बिशाल पहाडी, बुद्धि तामाङ, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेल, रुषा न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल हुन भने रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् । शिब ढकालले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानकोको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।