राष्ट्रिय चलचित्र पुरस्कार र विशेष चलचित्रको लागि बोर्डद्वारा आवेदन माग

...

बैशाख, काठमाडौँ । चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । त्यस्तै, विशेष चलचित्रको प्रतिस्पर्धाको लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । आइतबार सूचना जारी गर्दै बोर्डले २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्रका चलचित्रहरुलाई आवेदन दिन माग गरेको हो ।

राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भई प्रदर्शन समेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरुले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभयो । आदिवासी, जनजाति एवं विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समयसीमा भित्र जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् । राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० बैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० बैशाख २४ गतेभित्र आवेदन दिईसक्नुपर्नेछ । प्रवक्ता बुढाथोकीले निर्धारित समयसीमा भित्र आफ्ना चलचित्रहरुलाई बोर्डको कार्यालयमा आवेदन दिई प्रतिस्पर्धामा सहभागी गराउन फिल्म मेकरलाई अपिल गर्नुभयो ।

विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन । यसपटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरुले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका ३(३ वटा चलचित्रहरु गरी छ वटा घोषणा हुनेछन् ।

कला, सँस्कृति, रहनसहन, परम्परा, मानवीय सम्वेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रियरुपमा योगदान पुर्‍याउन सक्ने चलचित्रहरुलाई प्रोत्साहन दिन विशेष चलचित्रको प्रतिस्पर्धा गरिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो । विशेष चलचित्र घोषणा हुने सबै चलचित्रहरुलाई अन्तराष्ट्रिय भाषामा सबटाईटलमा हुने खर्चस्वरुप प्रति चलचित्र दुई लाख रुपैयाँ बोर्डले प्रदान गर्ने गर्दछ । साथै, विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिताको लागि बोर्डले सहजीकरण गर्ने गर्दछ । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका तथा विशेष चलचित्र घोषणा भएका चलचित्रहरु बोर्डले गर्ने विभिन्न महोत्सवहरु तथा घुम्ती सिनेमा प्रयोजनको लागि निर्माताले उपलब्ध गराउनुपर्दछ ।

उत्कृष्ट लेखन ९कथा, पटकथा तथा सम्वाद०, उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान हुने गर्दछ । उल्लेखित विधाहरु बाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेमा बढीमा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस हुने गर्दछ । बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्र प्रमुखबाट राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान गर्ने गर्दछ ।