‘वेलकम टु हेम्जाकोट’बाट आशावादी टिम

...

जेठ, काठमाडौँ । कमेडी जनरामा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ टिम यतिबेला प्रचार–प्रसारमा लागिरहेको छ । निर्माण टिम हिजो सोमबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा निकै उत्साहित देखियो । कमेडी जनराको उत्कृष्ट प्रोजेक्ट बनाएको यो निर्माण टिम चलचित्र चल्नेमा आशावादी देखियो ।

पोखरा नजिकको थलो हेम्जाकोट ठाउँ वरपर छायांकन गरिएको यो चलचित्रले बेरोजगार पात्रको संघर्षको कथा पेश गर्छ । यसबाहेक धेरै कुरा छ, निर्देशक सरोज पौडेलले पत्रकारहरुको प्रश्नको सामना गर्दै भनें, – ‘हामीले उठाएको बिषयवस्तु काल्पनिक होइन । हामीहरुकै वरिपरीको कथा हो, त्यहि कथा फिल्ममा कमेडी तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।’

खासमा चलचित्रमा मुख्य चार पात्र छन् । धेरै नपढेको र बेरोजगारी एक युवक छ, जोसँग उसका बाबुआमा आजित छन् । ढिलै भएपछि जिन्दगीले सुख ल्याउँछ भन्ने आशामा छ ऊ । केही सीप नलागेपछि विदेश जाँदा बाटोमा उसले धेरै हैरानी खेप्छ । फिल्मका चार पात्रको अलग लक्ष्य र संघर्षलाई लिएर निर्देशक पौडेलले फिल्म बनाएका छन् ।

बेरोजगारी र त्यसले निम्त्याएका दुःखसँग यो फिल्मले रिलेट गर्ने निर्देशकको दाबी छ । मल्टिस्टारर यो चलचित्रमा उनले अन्तरजातीय प्रेमको कथावस्तु पनि उधिनेका छन् । उनले फेरी भने, ‘हामीले असाध्यै ठुला गफ त च्ट्छौं । तर, जति नै ठूलो भाषण र गफ चुटेपनि गाउँमा अझै पनि जातीय समस्या छ । जातलाई लिएर प्रेममा लडाइँ हुन्छ । केही प्लट रुकुमको घटनालाई लिएर लेखिएको छ ।’

निर्देशक पौडेल चलचित्रको स्क्रिप्टमा विश्वास गर्छन् । उनलाई थाहा छ फिल्ममा दर्शक तान्ने स्टार त छैनन्, तर उनी हेरेका दर्शकलाई मनोरञ्जन दिने कुरामा आशावादी छन् ।
कलाकार भन्दा पनि बिषयवस्तुका कारण चलचित्र चल्ने भन्दै उनले आफ्नो चलचित्र राम्रै चल्नेमा आशा राखेको प्रतिक्रिया दिए । मलाई लाग्छ कन्टेन्टले अर्थ राख्छ । पछिल्लो समय स्टारका फिल्म पनि फ्लप भएका छन् । उदाहरणका लागि बलिउडमै हेरौं द केरला स्टोरीले कन्टेन्टकै कारण कति राम्रो कमाइ गरेको छ । यसकारण विषयवस्तु महत्वपूर्ण हो, उनले भने ।

फिल्मको शीर्ष भूमिकामा छन् विनोद न्यौपाने । यसअघि उनले १५ वटा चलचित्रमा काम गरे । केही सोसल र कमेडी चलचित्र गरे । उनले यसअघि गरेको कमलेको बिहे अहिलेसम्म रिलिज भएको छैन । उनी आफै यस चलचि निकै महत्वपुर्ण र अर्थपुर्ण रहने बताए । मैले मज्जाले एक्सप्लोर गरेर काम गरेको फिल्म हो यो, उनले भने, ‘चलचित्रमा मज्जाले काम गर्ने ठाउँ पाएको छु । मैले यो चलचित्रबाट केहि देखाउन पाउनेछु । दर्शक पनि केहि पाउनेछन् ।’

फिल्ममा बुद्धि तामाङ पनि छन् जो सहायक भूमिकामा देखिनेछन् । छक्कापञ्जा र कबड्डीजस्ता ब्लकबस्टर चलचित्रमा अभिनय गरेका उनलाई दर्शकले भिन्न चरित्रमा देख्न पाउनेछन् । साइड रोल जस्तो देखिएपनि उहाँ वरपर चलचित्रको कथा घुमेको छ, पत्रकार सम्मेलनमा अर्का कलाकार प्रेविल कंडेलले भने, ‘यस्तो क्षमतावान् र चर्चित कलाकारसँग काम गर्न पाउनु भाग्यको कुरा हो । बुद्धी दाई लगायत हरेक कलाकारको भुमिका महत्वपुर्ण छ । सबैको कथाको मुख्य बिषय र परिस्थिती अहिलेको समसामयिक परिस्थितीमै आधारित छ ।’ त्यस अवसरमा बुद्धी तामाङले भने, ‘दर्शकले मलाई नियमितभन्दा भिन्न चरित्रमा देख्न पाउनुहुनेछ, उनले भने ।

अभिनेता विनोद न्यौपानेले आफूलाई एक्टरको रुपमा चिनाउन थाल्छन् । ‘म एक्टर हुँ किनभने स्टार कोही पनि हुनसक्छ । आजभोलि त धेरै प्लेटफर्म छन्, जो पनि स्टार हुन सक्छ । तर एक्टर सबै हुन सक्दैन, उनले भने, ‘यो क्षेत्रमा जति जानें, सिकें शतप्रतिशत दिने प्रयास गरेको छु, यसबाट पनि केहि न केहि दिने प्रयास गर्नेछु ।’

प्रेसमिटमा डेब्यु गर्ल अम्बिका तामाङले आफूले गरेको पात्रबारे छोटो धारणा राखेकी थिइन् । ‘मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु । जसले लोकसेवा परीक्षाको तयारी गरेको छ । यो पात्रसँग मेरा केही स्वभाव पनि मिल्छन् । बाँकी कुरा त चलचित्र हेरेपछि थाहा हुनेछ ।’ उनले गाउँमा गरेको संघर्ष चलचित्रमा मिल्ने पनि बताइन् ।

अभिनेता प्रेविल कंडेलले आफ्नो डेब्यु चलचित्रले असाध्यै आशा र उत्साह थपेको बताए । उनले भने, – ‘अब कलाकारको रुपमा यो उद्योगमा अघि बढ्ने निर्णय भएको छ । आशा छ दर्शकले माया गर्नुहुनेछ । चलचित्रमा रहेको मेरो पात्रलाई पनि मन पराउनुहुनेछ । गुल्मीका प्रेविल केहि दिनमा नयाँ चलचित्रमा साइन गर्ने तयारीमा छन् ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र नेपालबाहेक जापान, अस्टे«लिया, अमेरिका र युरोपका केहि शहरमा पनि प्रदर्शन हुँदैछ ।
तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो ।

यो चलचित्र केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथीले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । त्यस्तै, यसअघि सार्वजनिक चलचित्रका कन्टेन्ट आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायले दर्शकको ध्यान तानेको थियो ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी,   शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।

चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् ।