२५ जनालाई ४५ दिने निशुल्क कपाल काट्ने तालिम दिदै बिक्रम गौतम

...

सुरेश तिमल्सिना, जेठ, काठमाडौं । २५ जना युवायुवतीलाई ४५ दिने निशुल्क कपाल काट्न सिकाउने तालिम सुरु भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजनामा ‘बि स्टार युनिसेक्स एकेडेमी’ ले निशुल्क तालिम सुरु गरेको हो । आइतबार तालिमको उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ ।

बलबहादुर राईले संचालन गरेको उक्त कार्यक्रममा अतिथिहरु हास्य टेलिसिरियल सक्किगोनिका कलाकार हरि निरौला (कक्रोज), सुबोध गौतम (एदुमे) , बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई , बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष सम्भु भट्टराई , ‘बि स्टार युनिसेक्स एकेडेमी’ का प्रमुख बिक्रम गौतम, तालीमका लागि उपस्थित विभिन्न ब्यक्तिहरु कार्यक्रममा उपस्थित थिए । 

कार्यक्रममा पहिलो मन्तव्य राखेका हरि निरौलाले स्वदेशमा नै रोजगार सिर्जना गर्न लागेकोमा बिक्रमलाई धन्यवाद व्यक्त गरे , साथै उनले कुनैपनि सीप ठूलो सानो नहुने र सिपले नै मानिसलाई सक्षम बनाउने भएकाले आफुले जानेबुझेको सिपलाई सहि तरिकाले प्रस्तुत गर्न तालिममा उपस्थित विद्यार्थीहरुलाई अनुरोध गर्दै यस्ता तालिमले परदेश भासिनेको संख्या पनि घटाउन मद्दत मिल्ने बताए । 

hair-cut-training.jpeg

यसैगरी कलाकार सुबोध गौतमले आफ्नो क्षमता आफ्नै देशमा प्रस्तुत गर्न नसक्दा बाहिरी मुलुकका मानिसले नेपालमा आएर विभिन्न काम गरिरहनु परेको र नेपालमा नै यस्ता तालिमहरु अझै धेरै हुन सकेमा स्वदेशमा नै पैसा भित्रन सक्ने साथै रोजगारीको लागि भौतारिन पर्ने बाध्यताको अन्त्य हुनसक्ने भन्दै बिक्रम गौतम लगायत यो तालिम आयोजना गरेकोमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ का वडाध्यक्षमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रम आयोजक बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई ले आफ्नो वडामा यसरी यो कार्यक्रम प्रारम्भ गर्नको निम्ति आफुलाई प्रोत्साहन गरेकोमा बिक्रम लगायत उनको टिमलाई बिशेष धन्यवाद व्यक्त गर्दै तालिम लिन ईच्छा व्यक्त गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई सहि ढंगले तालिमको सदुपयोग गर्न आह्वान गर्दै ४५ दिने तालिम सकेपछि रोजगारीको लागि वडाले सक्ने साथ , सहयोग र सद्भाव प्रकट गर्ने आश्वासन दिए ।

यसैगरी वडा नं १२ का वडाध्यक्ष सम्भु भट्टराईले अहिले भख्खरै बजेट आएको र अबको बजेट मार्फत पनि युवायुवतीहरुलाई आफ्नो नगरमा नै रोजगारीको लागि प्रोत्साहन गर्ने विभिन्न तालीमहरु दिने कुरा व्यक्त गरे । 

कार्यक्रमलाई समापन ‘बि स्टार युनिसेक्स एकेडेमी’ प्रमुख बिक्रम गौतम ले गरेका थिए । बिक्रम पेशाले एक मेकअप आर्टिस्ट हुन । उनी अहिले कपनमा आफ्नै एउटा सैलुन संचालन गरिरहेका छन भने उनको सैलुनमा आफ्नो परिवारका भाई, बुहारी छन । उनले काम गर्नको लागि एकजना मात्र कर्मचारी राखेका छन । सैलुन चलाउने मात्र होईन उनी अहिले हास्य टेलिसिरियल ‘सक्किगोनी’ का मेकअप आर्टिस्ट पनि हुन भने उनले अनेकौं सिरियल, फिल्ममा समेत आफ्नो सीप प्रस्तुत गरिसकेका छन ।

कार्यक्रमलाई समापन गर्दै उनले बुढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ का वडाध्यक्षहरुलाई यो किसिमको तालिम प्रदान गर्नको लागि आफुलाई सहानुभूति प्रदान गरेकोमा खुशी व्यक्त गरे । उनले तालिमका लागि उपस्थित विद्यार्थीहरुलाई एउटा सामान्य सटरमा सैलुन चलाएर पनि आफू आत्मनिर्भर बन्न सकिनेरहेछ भन्ने उदाहरण प्रस्तुत गर्दै कुनैपनी सीप वा आफुमा भएको क्षमतालाई उचित तरिकाले निभाउन सके सफलता सहज तरिकाले प्राप्त गर्न सकिने बताए ।