‘दान्भी’मा पूजा र कुन्साङको जोडी पक्का

...

असार, काठमाडौँ । अभिनेत्री पूजा शर्मा दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको चलचित्र ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ । चलचित्रमा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजमले काम गर्ने पक्का भएको छ । यो कुन्साङको डेब्यू चलचित्र हुनेछ ।

चलचित्रलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यसअगाडि निर्देशन गरेको चलचित्र ‘जय शम्भु’ले तारिफ पाएको थियो । चलचित्रको एक्सन दृश्यलाई समीक्षकदेखि दर्शकले प्रशंसा गरेका थिए । रुपेशले भने–‘यसपटक हामीले चलचित्रमा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । चलचित्रले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ ।’

चलचित्रलाई लिएर नायिका पूजा शर्मा उत्साहित छिन् । पूजाले चलचित्रका लागि मिहिनेत गरिरहेको बताइन् । चलचित्रको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् ।

चलचित्रका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।