चलचित्र ‘कार्साङ’मा बुद्धि तामाङ पनि रहने

...

असार, काठमाडौँ । निर्माण हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र  ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङको पनि अभिनय रहने भएको छ । यम शेर्पाको निर्देशन रहने यो चलचित्रमा यसअघि दयाहाङ राई फाइनल भइसकेका छन् । 

यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहने छ । चलचित्रमा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । चलचित्रको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

BUDDHI-YAM.jpg

सामाजिक कथामा बन्ने चलचित्रमा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । चलचित्रका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए । फिल्मकी प्रमुख अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । यसअघि उनले थुप्रै सर्ट चलचित्रको निर्देशन गरिसकेका छन् ।

यो चलचित्रमा दयाहाङ अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटस्का लागि माग बढीरहेको निर्माण पक्षको दाबी छ ।