यसबर्षको सर्वाधिक हिट ५ नेपाली चलचित्र (भिडिओ रिपोर्ट)

...

साउन, काठमाडौँ । चलचित्र बिकाश बोर्डले आर्थिक बर्ष २०७९, ८० मा प्रदर्शनमा आएका चलचित्रहरुको आम्दानी सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र  विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको हो । कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्या सहितको विवरण सार्वजनिक गर्दै छौं । गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् । स्वदेशी चलचित्रहरूको २७ लाख १६ हजार २ सय १७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार १ रुपैंया भएको छ । गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन् ।

सर्वाधिक आम्दानी गर्ने यि हुन् पाँच नेपाली चलचित्र 

नम्बर ५, दुई नम्बरी 
चलचित्र ‘दुई नम्बरी’ गतबर्षको सर्वाधिक कमाउने चलचित्र मध्ये पाँचौं स्थानमा परेको छ । यो चलचित्र २०७९ असोज २१ गते प्रदर्शनमा आएको थियो । दिपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रमा दयाहांग राई, सौगात मल्ल, बुद्धि तामांग, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । यो चलचित्रमा राजिव गुरुग अर्थात दिपक मनांगे, अमना देवी राई र जयास श्रेष्ठ लगायतको लगानी रहेको छ । यो चलचित्रले कति कमायो होला रु यो चलचित्रको देशैभरीबाट १ लाख ४१ हजार ७ सय १३ वटा टिकट बिक्री भएको थियो । जसबाट ३ करोड ८४ लाख ७५ हजार ७सय ७० रुपैंया कमाउन सफल भएको थियो ।

नम्बर ४, महा पुरुष 
चलचित्र ‘महा पुरुष’ले सर्वाधिक हिट चलचित्रको लिस्ट मै छ । यो चलचित्रमा महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य अभिनय रहेको छ । यो चलचित्र २०७९ कात्र्तिक ११ गते प्रदर्शनमा आएको थियो । एकल पुरुषको कथालाई उठान गरेको यो चलचित्र हेर्न दर्शक हलमा लामै समय उर्लिएका थिए । चलचित्रमा महजोडीसँगै गौरी मल्ल, रबिन्द्र सिंह बानिया, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराईली लगायतका कलाकारको अभिनय रहेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा दिपेश खत्रीको लगानी रहेको छ । यो चलचित्रले देशैभरीबाट कति आम्दानी गर्यो होला त रु यो चलचित्रको २ लाख ४७ हजार ७ सय २८ वटा टिकट बिक्री भएको थियो जसबाट ७ करोड ३८ लाख ९१ हजार ९ सय २० रुपैंयामा आम्दानी भएको थियो ।

नम्बर ३, प्रेमगीत ३
चलचित्र ‘प्रेमगीत ३’ ले पनि गएको बर्ष राम्रो आम्दानी गर्न सफल भयो । यो चलचित्र भारत लगायत विश्वका बिभिन्न देशमा प्रदर्शन भएको चर्चाले पनि दर्शक हलसम्म उर्लिएका थिए । २०७९ असोज ७ गते प्रदर्शनमा आएको थियो । प्रदीप खड्का र क्रिस्टिना गुरुंगको मुख्य अभिनय रहेको यो चलचित्रलाई छेगन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । लगानी पनि सन्तोष सेनकै रहेको छ । यो चलचित्रले कति कमायो होला त रु यो चलचित्रको पनि देशैभरीबाट २ लाख ६९ हजार ८ सय ८ वटा टिकट बिक्री भएको थियो । जसबाट ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ रुपैंया आम्दानी भएको थियो । चलचित्र प्रेमगीत ३ को हिन्दी डब पनि नेपालमा प्रदर्शन भएको थियो । त्यसबाट पनि २ करोड २७ लाख २९ हजार ८ सय ६७ रुपैंया आम्दानी गरेको थियो ।

नम्बर २, जारी 
नेपाली चलचित्र ‘जारी’ले दर्शकको माया निकै पायो । यो चलचित्रले १०० दिन मनाइसक्यो । अहिले पनि केहि हलहरुमा यो चलचित्र प्रदर्शन भइरहेको छ । यो चलचित्र यहि २०८० साल बैशाख १ गतेबाट प्रदर्शनमा आएको हो । यो चलचित्रमा रामबाबु गुरुङको लगानी रहेको छ भने लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, बिजय बराल, रोयदिप श्रेष्ठ, रेखा लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रले पनि नसोचेको ब्यापार गरिरहेको छ । निर्माण टिमनै यतिधेरै आशावादी थिएन । यो चलचित्रको गत आर्थिक बर्षसम्म ६ लाख १९ हजार २ सय २१ वटा टिकट बिक्री भएको छ । जसबाट १७ करोड १७ लाख ९५ हजार १८ रुपैंया आम्दानी गरिसकेको छ । अझैपनि प्रदर्शन भइरहेकाले हलबाट निस्किने सम्म अझै धेरै ब्यापार गर्ने देखिन्छ ।

नम्बर १, छक्का पन्जा ४
गत आर्थिकबर्षको सर्वाधिक आम्दानी गर्न सफल चलचित्र हो ‘छक्का पन्जा ४’ । यो चलचित्रको हरेकजसो सिरिज सर्वाधिक हिट छ । धेरै कमाउने लिस्टको नम्बर १ मै पर्दै आएको छ । हेमराज बिसीको निर्देशन रहेको यो चलचित्रमा निर शाह, दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रको देशैभरीबाट ६ लाख २९ हजार ७ सय ५० वटा टिकट बिक्री भएको थियो । जसबाट १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ रुपैंया आम्दानी गरेको थियो ।

यसरी हेर्दा गत आर्थिक बर्षमा सर्वाधिक कमाउने ५ चलचित्रमा पहिलो नम्बरमा ‘छक्का पन्जा ४’, दोस्रो नम्बरमा ‘जारी’, तेस्रो नम्बरमा ‘प्रेमगीत ३’, चौथो नम्बरमा ‘महापुरुष’ र पाँचौ नम्बरमा ‘दुईनम्बरी’ परेका छन् । त्यसपछि क्रमशः ‘फुलबारी, झिंगदाउ, के घर के डेरा, प्रकाश, बिहेपास, बाँबरी, प्रसाद २, सम्हालिन्छ कहिले मन, ह्यारीकि प्यारी’ लगायतका चलचित्र परेका छन् ।

Video Report: