‘शिवानी’ले ५२० कमायो भन्दै ट्रोल बनेपछि निर्मल शर्मा लेख्छन्, सुध्रिनु जरुरी छ

...

साउन, काठमाडौँ । यतिबेला जम्मा ५२० रुपैंया कमाएको नेपाली चलचित्र शिवानीको ब्यापक चर्चा छ । गतबर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रहरुको आम्दानी चलचित्र बिकाश बोर्डले सार्वजनिक गरिदियो । ५७ वटा चलचित्रको लिस्टमा सबैभन्दा अन्तिममा शिवानीको नाम छ । आम्दानीमा जम्मा ५२० रुपैंया कमाएको उल्लेख छ । यसकारण पनि अहिले यो चलचित्रको चर्चा भइरहेको हो । सामाजिक सन्जालमा निकै ट्रोल पनि बनिरहेको छ ।
यो चलचित्रमा चिनिएका कलाकार खासै छैनन् । त्यहि भिडमा निर्मल शर्मा पनि छन् । उनी दर्शकमाझ चिनिएका कलाकार हुन् । दर्शकले कुन कलाकार भएको चलचित्र रहेछ भन्दा निर्मल शर्माको भन्ने गर्छन् ।  ‘छक्कापञ्जा ४’ का कार्यकारी निर्माता र अभिनेता समेत रहेका निर्मल शर्मा अहिले शिवानीकै कारण चर्चामा छन् । अहिले सामाजिक सन्जालमा उनकै तस्बिर राखेर फ्ल्प फिल्मको कमाई हेर्नुस् भन्दै आइरहेका छन् । यसैबिच अभिनेता शर्माले औपचारिक टिप्पणी गरेका छन् । उनले अरुको फिल्म चल्दा दुःखी हुने र नचल्दा खुसी हुने भन्दै कटाक्ष गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सुध्रिनु जरुरी रहेको समेत बताएका छन् ।

निर्मल शर्माले फेसबुकमा यस्तो लेखेका छन्,  ‘‘शिवानी’ आम्दानी रु. ५२०, बोर्डका अनुसार । १८/२० वर्षअघि जतिबेला काठमाडौं सहरका भित्ताभित्तामा शुक्रबार प्रदर्शन हुने चलचित्रहरुको पोस्टर टाँसिन्थ्यो । त्यही पोस्टर टास्ने भाइहरुको अनुरोधमा उनीहरुको त्यतिबेलाको मेहनत अनि दुस्खको सम्मान गर्दै उक्त चलचित्रका सम्पूर्ण कलाकारहरु समावेश भएको एउटा गीतमा म पनि आवद्ध भएको थिएँ । तर बिडम्बना चलचित्र चलेन । हामी प्रायः अरुको फिल्म चल्दा दुःखी हुने र नचल्दा खुसी हुने गर्छौं । आफू नै सुध्रिनु जरुरी छ ।’

शर्माको यो भनाइलाई समर्थन मिलिरहेको छ । ‘छक्कापञ्जा’ निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि शर्माको भनाइलाई लाइक गर्दै समर्थन व्यक्त गरेका छन् । प्रतिक्रिया पनि आइरहेका छन् । ‘यो फिल्म एक जनाले मात्र हेरे जस्तो छ’ भनेर उपेन्द्र न्यौपानेले गरेको कमेन्टमा निर्मल शर्माले ‘ए’ भनेर जवाफ फर्काएका छन् । यस्तै ‘कथावस्तु, लगानी, डाइरेक्टर र राम्रो संगीत अब हेरुम, यहाँनेर को कलाकार भनेर हेरिन्न महोदय । फिल्म आफैमा दमदार भए आफै ढोका खोल्छ ।’ भनेर कृष्ण श्रेष्ठले लेखेका छन् । त्यहि कमेन्ट निर्मल शर्माले ‘हस हजुर’ भनेर लेखेका छन् । यस्तै अन्य थुप्रै कमेन्टमा निर्माल शर्मा यतिबेला रिप्लाई दिँदै बसिरहेका छन् । ‘यो चलचित्रमा म एउटा गीतमा मात्र छु । मैले यो चलचित्र बनाएको हैन हजुर’ भन्दै जवाफ फर्काइरहनु परेको छ ।