‘कार्साङ’मा दयाहाङ र बुद्धिसँगै सुरक्षा

...

साउन, काठमाडौँ । नेपाली चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने यो चलचित्रमा यसअघि अभिनेतामा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा यसअघि नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ । यसअघि शेर्पाले थुप्रै सर्ट चलचित्रको निर्देशन गरिसकेका छन् ।

चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । तिहार लगतै छायांकन गरिने यस फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्ण पक्षले बताएको छ ।

Surakshya and yam.jpg

चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै महँगो रकममा बिक्री पनि भइसकेको छ । यो चलचित्रलाई अन्तराष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको हो । चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच केही दिन अघि आधिकारिक संझौता भइसकेको छ ।

फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ । ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन् ।