मदन पुरस्कार २०७९ का लागी छनौट भएका ५ पुस्तक सार्वजनिक

...

साउन, काठमाडौँ । मदन पुरस्कार गुठीले बि.स २०७९ का लागी छनौट भएका पुस्तकको नाम सार्वजनिक गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त भएका कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो । 

यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछन् । छनौटमा परेका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया पुस्तक पनि पर्न सफल भएको छ । यस्तै विवेक ओझाको ऐँठन र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत पनि परेका छन् । यस्तै प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर पर्न सफल भएका छन् ।

वि.सं. २०१२ सालमा स्थापना भएको गुठीले पहिलो पटक २०१३ सालमा गद्य विधानमा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

गुठीले वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दश वटाको श्रेष्ठ सूची सार्वजनिक गर्ने गरेको छ । गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाउने गरिन्छ । श्रेष्ठ सूचीमा छनौट पुस्तक मध्ये एकलाई सर्वश्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार दिने गरिएको छ। २०७५ सालबाट पुरस्कार राशि चार लाख रूपैयाँ बनाइएको हो ।

गएको बर्ष २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको किताब अग्निलाई मदन पुरस्कार दिएको थियो । यस्तै जगदम्बा श्री पुरस्कार उदय किताबका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो । मदन पुरस्कारका लागि अग्निसँगै ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत नेपाल शब्दकोश, सतीः इतिहास र मीमांसा र हिति प्रणाली छनोट भएका थिए ।