‘नाङ्गो गाउँ’को सुखद सुरुवात

...

भदौ, काठमाडौं । आज (शुक्रबार) बाट देशभरका प्रदर्शनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले सुखद सुरुवात गरेको छ । आज बिहानैबाट चलचित्रमा दर्शकको चाप राम्रो रहेको छ । मल्टिप्लेक्सहरुमा दर्शकको चाप सुखद देखेपछि यसको निर्माणपक्ष उत्साहित देखिएको छ । मध्यान्नपछिका शोहरुमा बुकिङ उच्च देखिएको छ । यसैले, यो चलचित्रले आज राम्रो ओपनिङ गर्ने संकेत दिएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले पनि राम्रो भनेका छन् । आज बिहान काठमाडौंको एफक्यूब हलमा चलचित्र हेर्न पुगेका दर्शकहरुले ‘नाङ्गो गाउँ’ राम्रो फिल्म बनेको बताए ।

केही दर्शक त यो फिल्मको हिट गीत ‘सुन सुन सुन्दरी’मा हल भित्रै नृत्य समेत गरिरहेका थिए । चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यो फिल्मको कथावस्तु, दिन खोजेको सन्देश मन परेको बताए । कतिपयले चलचित्रको क्लाइमेक्सले भावुक बनाएको समेत बताए ।

चलचित्र हेरेर फर्किएका दर्शकले गज्जब भनेपछि यसका निर्देशक दीपेन्द्र लामाले खुशी व्यक्त गरे । यो चलचित्रले जनतालाई मतदानको बिषयमा सचेत गराएको छ । चलचित्रले दिन खोजेको सन्देश हरेक मतदाताले वुझ्नु पर्ने फिल्मकर्मीहरुको पनि भनाई छ ।

हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, विशाल पहारी, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।