‘हात्तीछाप’ माघको २६ मा प्रदर्शन हुने

...

भदौ, काठमाडौँ । नयाँ चलचित्र  ‘हात्तीछाप’को आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

चलचित्रको फस्टलुकमा नायक सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सौगातलाई फस्टलुकमा ‘बोत्तल राजा’को पात्रमा प्रस्तुत गरिएको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो चलचित्र माघको २६ गतेबाट रिलिज हुने पक्का भएको छ । प्रस्तुतकर्ता नेपालीले वितरकसँग सल्लाहा गरेर माघको २६ गतेलाई प्रदर्शन मिति रोजेको जानकारी दिए ।

प्रदीप भारद्धाजको लेखनमा तयार भएको यो चलचित्रमा सौगातको साथमा दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल  लगायतका कलाकारको अभिनय छ । तर, फिल्मको पहिलो फस्टलुकमा भने निर्माणपक्षले सौगातलाई मात्र स्थान दिएको छ ।

यो चलचित्रमा सुशन प्रजापतिको छायांकन छ । काठमाडौं र पोखरामा खिचिएको चलचित्रले सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरेको छ । किरणले नै यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद कमाई गरेको थियो ।

चलचित्र ‘हात्तीछाप’मा पनि ‘२ नम्बरी’कै हिट टिम दोहोरिएको छ । दया र सौगात एकसाथ देखिदा दर्शकलाई फिल्मप्रति उत्साह थपिने पक्का छ । फस्टलुक सार्वजनिक भएपछि चलचित्र प्रति दर्शकमा कौतुहलता पैदा हुने विश्वास निर्माणपक्षको छ । चलचित्रमा अमलादेवी नेपाली र दिपक मनाङ्गेको लगानी छ ।

यो चलचित्रमा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, आरआर फिल्मस्को वितरण रहनेछ ।