‘नाङ्गो गाउँ’को दुई दिनको कमाई १ करोड ६० लाखः वितरक

...

भदौ, काठमाडौँ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले हलमा दर्शक दिनप्रतिदिन बढाइरहेको छ । शुक्रबार भन्दा शनिबार दर्शकको संख्या बढेको छ । शुक्रबार यो चलचित्रले बक्स अफिसमा ७० लाखको ग्रस कलेक्शन गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । शुक्रबार ७० लाखको ग्रस कलेक्शन गरेको चलचित्रले शनिबार देशभरका हलमा ९० लाखको ग्रस कलेक्शन गरेको हो । २ दिनमै चलचित्रले बक्स अफिसमा १ करोड ६० लाखको ग्रस कलेक्शन गर्दै बम्पर सुरुवात गरेको हो ।

चलचित्रले आज पनि राम्रो कलेक्शन गरिरहेको वितरक कट्टेलको भनाई छ । भोली तीजको बिदा र असोज ३ गते संविधान दिवसको बिदा परेकाले पनि फिल्मको व्यापारमा ठूलो प्रभाव पर्ने देखिन्छ । भोली तीजको बिदा परेकाले प्रदर्शकले फिल्मको शोज संख्या शुक्रबारको तुलानामा २५ प्रतिशतले बढाएका छन् । सोमबार यो चलचित्रले नेपालभर १५० भन्दा बढी शोज पाएको छ । जसकाकारण, व्यापार फेरि आक्रामक हुने प्रक्षेपण गरिएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।

रोहित कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राम श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलार्ई आलोक शुक्लाले खिचेका हुन् ।