डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’को फस्ट लुक सार्वजनिक

...

असोज, काठमाडौँ । डकुमेन्ट्री फिल्म ‘रित्तो गाउँ’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । आनन्द राज प्रोडक्सनको ब्यानरमा र राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको यस पोस्टरमा एक महिलाले टुकी बालेर केहि खोज्दै गरेको देखिन्छ । उक्त भुमिकामा कलाकार हिउँवाला गौतमलाई मात्रै देखाइएको छ । अन्य कलाकारहरुलाई लुकाइएको छ ।

नेपाली गाउँको समसामयिक कथामा आधारित यस फिल्मलाई नेपालका मुख्य शहर र बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने निर्देशक रामजी ज्ञवालीले जानकारी दिए । उनले भने, –‘अहिले हाम्रो गाउँ एक्लो छ । एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दैछौं, जुन कथा असाध्यै दर्दनाक छ ।’ निर्देशक ज्ञवालीका अनुसार सबै नेपालीले हेर्नै पर्ने भएकाले यसलाई हरेक नेपालीहरु बस्ने समुदायमा विशेष प्रदर्शन गरिन लागिएको हो ।

पोस्टर सार्वजनिक भएपछि निकै चर्चा चलेको छ । रित्तो गाँउले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गर्न खोजेको सार्वजनिक पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।
फिल्ममा अहिलेका चर्चित अभिनेता मुकुन भुषाल, पुराना कलाकार सुवास गजुरेल र नव–अभिनेत्री सविना राउतलाई पनि फिचर गरिएको छ । निर्माण टिमले फस्टलुक पोस्टरबाहेक कुनैपनि प्रकारको प्रमोशनल सामग्री सार्वजनिक नगर्ने स्पष्ट पारेको छ ।

रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्मका सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने डिओपी निरज कँडेल हुन् । निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमून, आराध्या जस्ता चर्चित सर्टफिल्म निर्माण तथा केहि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी एक दशकभन्दा धेरै समयदेखि इन्टरटेनमेन्ट पत्रकारितामा पनि आवद्ध छन् ।

रित्तो गाउँलाई आनन्द राज शर्मा वाग्लेले निर्माण गरेका हुन् भने यसमा प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायल लगायत कार्यकारी निर्माताको रुपमा रहेका छन् । निर्माता आनन्द राज शर्मा वाग्लेले पहिलो विशेष प्रदर्शन काठमाडौंबाट हुने र यसबाट उठेको सम्पुर्ण रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरिने प्रतिक्रिया दिए । उनले भने, –‘हामी अहिले के कसरी गर्ने भनेर सल्लाह गर्दैछौं । तर, पहिलो शो बाट उठेको रकम क्रिकेट क्षेत्रमा जान्छ । त्यसपछिका हरेक शो बाट उठेको रकमको केहि प्रतिशत हामीले समाजसेवामा लगाउने तयारी गरेका छौं ।’

८ दिन छायांकन गरिएको यस डकुमेन्ट्री फिल्म तत्कालै युट्युवमा सार्वजनिक नहुने निर्माता शर्मा वाग्लेले बताए । राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको यस फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन् ।