युट्युब ट्रेन्डिङमा आयो प्रशान्तले गाएको  ‘परदेशी–२’ फिल्मको गीत

...

हिजो काम, आज काम 
काम विदेशमा
काम भन्दा के नै छ र आमा विदेशमा

 ‘परदेशी–२’ फिल्ममा समावेश यो नयाँ गीत  ‘हिजो काम…’युट्युब ट्रेन्डिङमा आएको छ । बुधवार सार्वजनिक गीतले स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाउँदै युट्युब ट्रेन्डिङमा उक्लिएको हो । यो गीतमा परदेशीको पीडा र बाध्यता समेटिएको छ । 

सतिश चापागाईँले रचना गरेको गीतमा चलचित्रका अभिनेतासमेत रहेका प्रशान्त तामाङले स्वर दिएका छन् । बि.बि अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन् ।

गीतमा समावेश संवादले स्रोता दर्शकको मन छोएको छ ।

भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूतलाई प्रस्तुत गरिएको छ । साथमा, दिलीप रायमाझीसँगै रमा थपलिया, वर्षा शिवाकोटी, प्रशान्त तामाङलाई समेत देख्न सकिन्छ । 
नारायण रायमाझी निर्देशित ‘परदेशी–२’ बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । 

चलचित्रलाई नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले संयुक्त निर्माण गरेका हुन् ।

प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतले चलचित्रमा अभिनय गरेका छन् । 

गीतकार रमेश बिजीको लेखन रहेको चलचित्र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा समेटिएको छ । ​

मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

चलचित्रको टिम यतिबेला प्रचारप्रसारका लागि देश दौडाहामा छ ।