‘परदेशी २’को गीत ‘कुरा सिधा छ’मा प्रकाश र वर्षाको नृत्य

...

असोज, काठमाडौँ । यही असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’मा समावेश नयाँ गीत ‘कुरा सिधा छ’ सार्वजनिक गरिएको छ । उक्त डान्सिङ शैलीको गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत र वर्षा सिवोकाटीलाई प्रस्तुत गरिएको छ । 

प्रताप दास र मिना निरौलाको स्वर रहेको गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत छ । गोविन्द राईले भिडियोको कोरियोग्राफी गरेका हुन् । ‘लिरिकल शैली’मा तयार यस गीतको भिडियोलाई सम्पादन भने मिराज अर्यालले गरेका छन् ।

दशैँको छेको पारेर प्रदर्शनमा आउन लागेको ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।

 ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र  दिएका रायमाझी ‘परदेशी २’मार्फत निर्देशनमा सफलताको ह्याट्रिक गर्ने दाउमा छन् । यसअघि सार्वजनिक गीत र देशदौडाहाबाट चलचित्रले निकै राम्रो हाइप बनाइसकेको छ ।