‘परदेशी २’ प्रचारका लागि महायज्ञमा पुगे कलाकारहरु

...

असोज, काठमाडौँ । दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ यतिबेला प्रचार–प्रसारमा जोडतोडले लागिपरेको छ । 

चलचित्र प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ । निर्माण टिमले यतिबेला एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत चलचित्रको प्रचारप्रसार गरिरहेको छ । अर्कोतर्फ, चलचित्रका कलाकार विभिन्न कार्यक्रमहरुमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपील गरिरहेका छन् । 

यसैबीच, चलचित्रका निर्देशक एवं कलाकारहरु शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गरेका हुन् । 

निर्देशक एवं कलाकारहरुलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं कदरपत्रले सम्मान गरिएको थियो । निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गरेका थिए । त्यसपश्चात अन्य सांगीतिक प्रस्तुति समेत दिएका उनले घरघरको कथामा ‘परदेशी २’ बनेको जानकारी गराए । 

pardeshi-2-movie (3).jpg

अभिनेता प्रकाश सपूतले चर्चित गीतहरु प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे । उनले केही महिनाअघि ल्याएको भजन शैलीको गीत दमाई महाराज समेत प्रस्तुत गरे । प्रकाशले ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक चलचित्र बनेको बताउँदै माया गरिदिन सबैलाई आग्रह गरे । 

अभिनेत्रीद्धय केकी र वर्षाले दशैंको फेस्टिभ माहोलमा मनछुने चलचित्र आउँदै गरेको बताउँदै सबैलाई मनपर्ने विश्वास दिलाए । छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणको सहयोगार्थ आयोजना गरिएको यो महायज्ञमा शनिवार झण्डै १५ सय बढी भक्तजन उपस्थित थिए । पवित्र कार्यका लागि गरिएको महायज्ञमा सहभागी हुन पाउँदा ख्ुशी लागेको निर्देशक एवं कलाकारहरुले बताएका थिए । फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव उनीहरुको थियो । 

वडादशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ । 

रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । ८ वर्षअगाडि प्रदर्शनमा आएको यसको अघिल्लो श्रृङखला ‘परदेशी’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । 

‘परदेशी २’प्रति पनि चलचित्रकर्मी एवं दर्शकले ठूलो आशा राखेका छन् ।