‘पहिलो चलचित्र ‘परदेशी २’ नै होस् भनेर पर्खिएको हुँ’

...

असोज, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्ने हो भने सधैजसो विदेश हिँड्नेको ताँती देखिन्छ । घाँटीमा माला र खादा लगाएका भर्खरका युवायुवती आँखाभरी आँशु बनाउँदै देश छाड्न लागिरहेका भेटिन्छन् । उनीहरुलाई हाँसोले विदाई गर्न भनेर विमानस्थलमा पुगेकाहरु पनि विछोडको पीडामा गहभरी आँशु बनाउँछन् । 
यही कथामा चलचित्र ‘परदेशी २’ तयार भएर प्रदर्शनको संघारमा छ । बडादशैँको अवसर पारेर यही शुक्रवारबाट देशैभर एकैपटक प्रदर्शनमा आउने चलचित्रले वर्तमान नेपाली समाजको घरघरको कथा बोल्ने निर्देशक नारायण रायमाझी बताउँछन् । 

‘अहिले सुनौलो भविष्यको कल्पना गर्दै युवापुस्ता विदेशिने जुन लहर छ, सोही कथामा चलचित्र बनेको छ । यससँग जोडिएका केही उपकथाहरु समेत छन्’ आइतवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक रायमाझीले भने, ‘यसभित्र बाबुआमाको कथालाई समेटने कोशिस गरिएको छ । गाउँ मिस गरेको एउटा परदेशीलाई समेटने कोशिस गरिएको छ । साथीसंगीको कथालाई समेटने कोशिस गरिएको छ । यसमा कतै पीडाहरु छन्, कतै उमंगहरु छन् । कतै मायाप्रेमका कुराहरु छन् । लामो समय लगाएर चलचित्रलाई राम्रो बनाउन सक्दो मेहनत गरेका छौं ।’ 

pardeshi-2-movie.jpg

हामी यहाँ रहेकाहरुले परदेशको कल्पना गर्छौ तर परदेश यहाँबाट कल्पना गरेजस्तो छैन भनेर सचेत गराउने काम पनि चलचित्रले गर्ने उनले बताए । 
‘यहाँ रहेकाहरुले परदेशको कल्पना गरिरहेका होलान् । परदेशमा रहेकाहरुले देश सम्झिरहेका छन्’ रायमाझीले भने, ‘चलचित्रले परदेशमा नजाउ भनेर रोक्न त सक्दैन । तर, जो–जो जहाँ–जहाँ पुगेपनि, संसारको जुन कुनामा पुगेपनि आफ्नो माटो, देशलाई बिर्सिनु हुँदैन् भन्ने सन्देश दिएको छ ।’ 

यसभन्दा अगाडिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’मा भएका कमीकमजोरीहरुलाई सुधार्दै ‘परदेशी २’लाई पूर्ण बनाएर ल्याएको रायमाझीले बताए । 
सांगीतिक क्षेत्रमा स्थापित गायक प्रकाश सपूत यही चलचित्रबाट अभिनेता बनेका छन् । पत्रकार सम्मेलनमा बोल्दै डेब्यू अभिनेता सपूतले चार वर्षअघि यो चलचित्रको छायांकन सेटमा काम गर्दै गर्दाको माहोल सम्झिए । ‘परदेशी २’को प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको हाइप राम्रो बनेको बताउँदै उनले खुशी व्यक्त गरे । 

चलचित्रको मुख्य पात्र आफू हुँदा चलचित्रलाई लिएर जिम्मेवारी बोध गरेको पनि उनले सुनाए । यो चलचित्रको छायांकनदेखि अहिलेसम्म आउँदा सपूतलाई अन्य केही चलचित्रहरुबाट समेत अफरहरु आएका थिए । यद्यपि, आफ्नो पहिलो चलचित्र ‘परदेशी २’ होस् भन्ने चाहनाले अरु चलचित्रमा काम नगरेको उनले स्पष्ट पारे । 
‘केही चलचित्रहरुबाट कुरा आएको थियो । त्यसमध्ये मैले पढेका वा रेस्पोन्स गरेका केही चलचित्रहरु बने । त्यसमध्ये केही चले, केही फ्लप समेत भए’ सपूतले भने, ‘तर मलाई मनैदेखि मेरो पहिलो चलचित्र परदेशी २ नै बनोस् भनेर पर्खिएको हुँ । किनकी यो चलचित्र र यसको टिमसँग मेरो छुट्टै एट्याजमेन्ट छ ।’ 
पत्रकार सम्मेलनमा अभिनेत्री वर्षा शिवाकोटी चलचित्रलाई लिएर एकदमै उत्साहित सुनिइन् । 

‘दशैंको माहोल पनि छ । यो दशैं चलचित्रले गर्दा अझ विशेष बन्न गईरहेको छ । चलचित्रलाई लिएर एकदमै उत्साहित छु’ उनले भनिन् । यस चलचित्रको कथा एवं पटकथा गीतकार समेत रहेका रमेश बिजीले लेखेका हुन् । आफ्नै देशको मौलिक कथामा चलचित्र बनेको बताउँदै माया पाउनेमा उनी विश्वस्त देखिए । निर्माता राजेश वंशलले दशैंको माहोलमा प्रदर्शनमा आउने चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । 

८ वर्षअघि प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘परदेशी’को दोस्रो श्रृङखलाका रुपमा प्रदर्शनमा आउन लागेको ‘परदेशी २ मा प्रकाश र वर्षाका साथमा केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, रमा थपलिया, सबिन बास्तोला, नीर शाह, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।