चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक

...

असोज, काठमाडौँ । चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक गरिएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको चलचित्रको १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ । चलचित्र उदय सुब्बाको निर्देशनमा निर्माण भएको हो ।

आगामी मंसिर २९ गतेबाट रिलिज हुने चलचित्रको सार्वजनिक टिजरमा अभिनेता सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारीलाई स्थान दिइएको छ । सार्वजनिक टिजर हेर्दा अभिनेता गौरव पहारी भिलेको भुमिकामा रहेको अनुमान लगाउन सकिन्छ । चलचित्रको टिजरले दर्शकमा कौतुहल्ता जगाउने देखिन्छ ।  
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । चलचित्रमा बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । चलचित्रको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।

मुस्ताङमा एक गीतको छायांकन गरिएको चलचित्रको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन चलचित्रमा रहेको छ । चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।