‘जात्रा’को तेस्रो शृङ्खला ‘महाजात्रा’को शुभ मुहूर्त

...

कार्तिक, काठमाडौँ । जात्रा’को तेस्रो शृङ्खलाको रुपमा निर्माण हुन लागेको ‘महाजात्रा’को शुभ मुहूर्त गरिएका ेछ । निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने यो चलचित्रको आज बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभ मुहूर्त र छायांकन सुरु गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’को छायांकन बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट सुरु भएको जानकारी दिएको हो ।

विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरेका थिए । चार घण्टा चलेको पूजामा सिनेमाको ‘कास्ट एण्ड क्रिउ’ सहभागी थियो । पूजापछि मुहूर्त समारोह गरियो । पहिलो दिन अभिनेता विपिन कार्कीका दृश्य खिच्ने तयारी छ । ४५ दिनको छायांकन सेड्युल तय गरिएको सिनेमालाई काठमाडौं र जनकपुरमा खिचिनेछ । निर्देशक तथा लेखक प्रदीप भट्टराईले सिनेमाको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए ।

तेस्रो शृङ्खलामा राष्ट्रिय मुद्दालाई उठान गरिएको निर्देशक भट्टराईले बताएका छन् । उनले ‘जात्रा भनेको एउटा अराजकता पनि हो । यही जात्रालाई राम्रोसँग मनाउन सके सेलिब्रेसन हुन्छ । भन्दै यसपटकपनि निकै रमाइलो कथा हुने बताए ।  

शुभ मुहूर्त अवसरमा हरिवंश क्यारेक्टर लुक्समै पत्नीसहित उपस्थित थिए । चलचित्रमा हरिवंश र विपिनका अलवा रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय रहनेछ । आगामी चैत ९ गते प्रदर्शन तयारीमा रहेको चलचित्रको निर्मातामा म्याक्स दीपेश खत्री छन् ।

निर्माता खत्रीले दर्शकलाई मनोरञ्जन दिने कुरामा आफूहरूले मेहनत गर्ने बताए । चलचित्रको एसोसियट निर्देशकमा जित बहादुर रुवाली, छायांकनमा पुरुषोत्तम प्रधान, द्वन्द्व निर्देशनमा कुमार महर्जन, नृत्य निर्देशनमा कविराज गहतराज, संगीतमा आशिष अविरल, मेकअपमा शमशेर लामा र प्रोडक्सन डिजाइनरमा रुपकप्रताप अधिकारी र भारत बाहेकको विदेश रिलिज एमएसएम इन्टरटेनमेन्टले गर्नेछ ।