मंसिर, भरतपुर । वन लेग क्लासिकल डान्सर सिता सुवेदीको ब्यस्तता पछिल्लो समय बढेको छ । एउटै खुट्टाले क्लासिकल नृत्य गरेर चकित पार्दै आएकी सिताले पछिल्लो समय मिसेस् नेपाल वल्र्ड जस्तो ठुलो प्रतिस्पर्धामा ‘एम्. एस.नेपाल इन्टरनेशनल २०२३’को टाइटाल जितेसँगै उनमा थप ब्यस्तता बढेको हो ।
यसैबिच सितालाई अपाङ्गता उत्थान जिल्ला समन्वय समिति चितवनले सम्मान गरेको छ । सिता भरतपुर महानगरपालिका वडा नम्बर २७ निवासी हुन् । उनले शारीरिक चुनौतिको बाबजुद पनि शास्त्रीय सङ्गीत र नृत्य मार्फत अपाङ्गता भएका व्यक्तिको सामाजिक साँस्कृतिक सहभागितालाई समान अवसरमा परिणत गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहल गर्दै आइरहेकी थिइन् । जस अनुरुप मिसेस् नेपाल वल्र्डमा पनि उनले सहभागिता जनाइन् र बिजेता बन्न सफल भइन् ।
सितालाई चितवनका अपाङ्गता क्षेत्रमा कृयाशिल संघसंस्थाहरुको तर्फबाट बधाई ज्ञापन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । उनको विजयले अपाङ्गता भएका व्यक्तिको जिवनमा नविनतम उर्जा संचार गर्न सकेको र कला क्षेत्रमा नव प्रवेशी अपाङ्गता भएका व्यक्तिलाई हौसला प्रदान गरेको आयोजकले बताएको छ ।
सम्मान पश्चात् आफ्ना सङ्घर्षका कथाहरु सुनाउनुहुँदै सीता सुवेदीले अपाङ्गता हुँदैमा सौन्दर्यतामा कमी नआउने र वास्तविक सुन्दरता मान्छेको बाहिरी आवरणमा नभई अन्तष्करणमा खोज्नुपर्नेमा जोड दिइन् । उनले आफ्ना सुरुवाती दिनहरु भरतपुरको सब्जीमण्डीमा तरकारी बेचेर पढाई खर्च जोहो गरेको बताउदै मान्छेले आफ्नो उद्देश्य प्राप्त गर्नका लागि जस्तोसुकै अवस्थाको सामना गर्दै निरन्तर मेहनत गर्न सके सफलताको शिखर चुम्न सकिने बताइन् ।