‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक

...

मंसिर, काठमाडौँ । रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोष्तरमा अभिनेत्री मलिका महतलाई देखाइएको छ । उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेका छन् । गाउँको परिवेशलाई पृष्ठभूमिमा राखिएको पोस्टरले चलचित्र महिला केन्द्रित रहेको बुझाउँछ ।

पोस्टरमा मलिका रातो रंगको कुर्था सुरुवालमा प्रस्तुत छिन् । रातो विद्रोहको रंग हो । निर्देशक सुवेदीले पनि चलचित्रमा मलिकालाई विद्रोही स्वभावमा प्रस्तुत गरेको हुनसक्ने पोस्टरबाट आँकलन गर्न सकिन्छ । मलिकालाई पोस्टरमा जुन रुपमा प्रस्तुत गरिएको छ, त्यसले फिल्मप्रति दर्शकमा राम्रो उत्सुकता जगाउन सक्नेछ । र, पोस्टरले मलिकाको फिल्ममा सशक्त भूमिका रहेको संकेत गर्छ ।

निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको फिल्ममा श्रीदेवी सुवेदी निर्माताको रुपमा छिन् । चलचित्रमा मलिकाका साथै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ । फिल्मको कथा भने मलिकामाथि केन्द्रित छ ।

बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पार्श्व संगीत रहेको ‘सतीदेवी’मा दिलासा र साराको प्रस्तुति छ ।