निर्देशक दीपेन्द्रको ‘दुखी आत्मा’ मा दयाहाङ

...

मंसिर, काठमाडौँ । दयाहाङ राईको मुख्य भूमिका रहनेगरी चलचित्र ‘दुखी आत्मा’ निर्माण हुने भएको छ । चलचित्रलाई लेखक तथा निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने बताइएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको चलचित्रको प्रमुख अभिनेतामा दयाहाङ फाइनल गरिएको र अन्य कलाकार फाइनल हुन बाँकी रहेको बताइएको छ । 

हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन, निर्देशनमा एउटा बेनामे र अर्काे ‘नाङ्गो गाउँ–२’ गरी दुई चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए । अहिले आएर चलचित्र नाम ‘दुखी आत्मा’ तय गरिएको हो । 
०८० को अन्त्यतिरबाट छायांकन सुरु गरिने फिल्मका अभिनेत्री लगायत अन्य कलाकर तथा प्राबिधिक चयन कार्य बाँकी छ । काठमाडौंमै खिचिने चलचित्र सोसियल कमेडी जनराको हुने जानकारी निर्देशक लामाले दिएका छन् । 

d lama.jpg

निर्देशनको हिसाबले ‘दुखी आत्मा’ निर्देशक लामाको छैठौं फिल्म हो । यसअघि उनले ‘घामपानी’,‘गोपी’,‘छ माया छपक्कै’,‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् । अर्थपूर्ण बिषयबस्तुमा चलचित्र बनाउदै आएका लामाका चलचित्र लगालग हिट छन् । ‘बाहिर हामी सबैको मुहार हसिलो देखिए पनि भित्रभित्रै कति दुखी भइरहेका हुन्छौं,त्यही अबस्थालाई प्रतिकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने,‘फिल्मले मानवीय स्वभावका बिभिन्न आयाम प्रस्तुत गर्ने बिश्वास लिएको छु ।’ 

अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ । अधिकांश प्राबिधिक टोली ‘नाङ्गो गाउँ’ कै रहने यो चलचित्रको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ ।