‘दीपक मनाङ्गे’को  ‘कङ्गारु’मा अर्पण थापा पनि

...

मंसिर, काठमाडौँ । साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘कङ्गारु’मा कलाकारको लानअप बलियो बन्दै गएको छ । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले साइन गरेका थिए ।

केदारको प्रवेशसँगै चलचित्रको अर्को प्रमुख पात्रमा अर्पण थापाले पनि साइन गरेका छन् । थापा र यो चलचित्रको निर्माण पक्षबिच आज औपचारिक रूपमा सम्झौता भएको हो । यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् । चलचित्रको सह–निर्मातामा रोनिश बहादुर बस्नेत छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलीया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलीया) रहेको छ ।

चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । चलचित्रका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् । निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।