पुस, काठमाडौं । कलाकार राजु पौडेल (राजु मास्टर)को लेखन, निर्देशक तथा अभिनय रहेको नयाँ टेलिसिरियल ‘सकस’लाई दर्शकले रुचाउँदै गएका छन् । प्रसारणमा आएको ६ भागसम्ममा सिरियलले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
हिमालय प्रिमियम टेलिभिजनमा प्रत्येक शनिबार ७ बजे र मास्टर टिभिमा ७ः३० बजे प्रसारण हुने गर्दछ । सिरियलमा नेपाली कलाकारिता क्षेत्रका चर्चित र लोकप्रिय कलाकारहरुको अभिनय देख्न सकिन्छ । कलाकारहरु राजु पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, तारा केसी, लोकेन्द्र लेखक, दिपक शर्मा, कमला रेग्मी, अशोक सिवाकोटी, विश्वदिप घिमिरे, अनिता बस्नेत, कृष्ण रेग्मी, सबिना आचार्य लगायतको अभिनय रहेको छ । राहुल राईले खिच्ने यस सिरियलको एडभाइजर डिरेक्टरमा विश्वमणी घिमिरे रहेका छन् ।
‘हामीले दर्शकको चाहना बमोजिम ‘सकस’ सिरियल निर्माण गरेका हौं । नेपाली समाजमा कहिकतै देखिएको कथा हो । अझै पनि नेपालमा यस्ता गाउँ, समाज छन् जहा परिवार भित्रै बिभिन्न कथा छन् । तिनै कथालाई हामीले पर्दामा उतार्ने कोसिस गरेका छौं ।’ राजुले आर्टिष्ट खबरसँग भने । ‘यस अघिका सिरियल जस्तै सकसलाई पनि माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छौं ।’
राजु मास्टर नेपाली टेलिसिरियलका लागी लोकप्रिय नाम हो । ‘मेरी बास्सै’ देखी ‘हल्का रमाइलो’, ‘जुठे’ लगायतका सिरियलमा उनले निभाएका पात्र हिट छन् । बिशेषगरी उनले ‘मेरिबास्सै’मा निभाएको राजु मास्टर पात्र अझै हिट छ । उनी अहिले ‘जुठे’ सिरियलमा पनि आबद्ध छन् । उनी ‘जुठे’का लेखक तथा निर्देशक र कलाकार पनि हुन् ।