आजबाट भद्रगोल प्रसारणमा आउने, मेरीबास्सैको भने टुंगो छैन, तितोसत्य र जिरे खुर्सानी बन्द

...

फागुन २८, काठमाडौं ।  लामो समय देखि नेपाल टेलिभिजन र मिडिया हव बिच आर्थिक कारोबार नमिल्दा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका हाँस्य टेलिश्रृंखलाहरु बन्द भए । लाखौं दर्शकद्धारा निकै रुचाइएका चर्चित हाँस्य टेलिश्रृंखलाहरु एकपटक बन्द हुँदा दर्शकहरुमा एककिसिमको नैराश्यता पैदा भयो । नेपाल टेलिभिजन र मिडिया हवको चपेटामा परेका हाँस्य टेलिश्रृंखलाहरुले मिडिया हवबाट पाउनुपर्ने रकम लामो समयदेखि नपाएको गुनासो गर्दै आएका थिए । त्यसअनुरुप हाँस्य टेलिश्रृंखला ‘तितोसत्य’का निर्माता दिपकराज गिरीले तितोसत्य बन्द भएको घोषणा समेत गरे । साथै अन्य ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ अनिश्चित समयका लागी रोकिएका थिए । यद्धपी कहिले प्रसारण हुन्छ भन्ने टुंगो भएको थिएन ।
media hub failmyमिडिया हवले नेपाल टेलिभिजनलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै नेपाल टेलिभिजनले मिडिया हवलाई हाँस्य टेलिश्रृंखला प्रसारणमा रोक लगाईदिएको थियो । यसभन्दा अघि मिडियाहवले हांस्य टेलिश्रृंखलाहरुलाई रकम नबुझाएको भन्दै हाँस्य टेलिश्रृंखलाहरुले छायांकन नगरी लामो समयसम्म नै पुनः प्रसारण गरेका थिए । अन्ततः टेलिश्रृंखलाहरु बन्द भएका थिए ।

अब भने नेपाल टेलिभिजनले मिडिया हवद्धारा प्रसारणमा आएका हाँस्य टेलिश्रृंखलाहरु प्रसारण गर्ने अनुमति दिएको छ । लामो समयदेखि मिडिया हवले नेपाल टेलिभिजनलाई तिर्नुपर्ने रकममध्येको केहि हिस्सा बुझाएको कारण नेपाल टेलिभिजनले यस्तो अनुमति दिएको हो । मिडिया हवका प्रबन्ध निर्देशक सोम धितालले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार तितोसत्य र जिरे खुर्सानी बाहेक अबदेखी नियमित हाँस्य टेलिश्रृंखला आउने बताए । पछिल्लो समय नेपालमा आएको महाभुकम्प पछिको दश महिनाको समयमा केही समस्या भएकाले नै यस्तो भएको हो अब चाँही नियमित प्रसारण मा आउनेछ, धितालले भने ।

‘भद्रगोल’ आउने निश्चित, के भन्छन् निर्माता सुवास कार्की ?
नेपाल टेलिभिजनबाट हरेक शुक्रबार राती प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला भद्रगोल आज (शुक्रबार) बाट प्रसारणमा आउने निश्चित भएको छ । निर्माता सुवास कार्कीले जनाए अनुसार आजबाट भद्रगोलको नयाँ भाग प्रसारण हुनेछ । यस भन्दा अघि भद्रगोल पनि रोकिदै आएको थियो ।

‘मेरीबास्सै’को पनि टुंगो छैन, के भन्छन् निर्माता सिताराम कट्टेल ?
नेपाल टेलिभिजनबाट हेरक मंगलबार राती प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला मेरीबास्सै भने आउँदो मंगलबार बाट प्रसारणमा आउने नआउने टुंगो लागीसकेको छैन । निर्माता सिताराम कट्टेलले दिएको जानकारी अनुसार प्रसारणमा आउने नआउने बिषयमा शनिबार टुंगो लाग्ने बताए । मंगलबारका लागी प्रसारणमा आउने मेरीबास्सै अहिलेसम्म छायांकन पनि भइसकेको छैन ।

‘तितोसत्य’ सधैंका लागी बन्द, के भन्छन् निर्माता दिपकराज गिरी ?
नेपाल टेलिभिजनबाट हेरक बिहिबार राती प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला तितोसत्य भने सधैका लागी बन्द भएको छ । यसभन्दा अघि पनि निर्माता दिपकराज गिरीले तितोसत्य बन्द गरीएको घोषणा गरीसकेका छन् । अब तितोसत्य अन्य टेलिभिजनबाट ल्याउने सोचमा हुनुहुन्छ भन्ने हाम्रो प्रश्नमा निर्माता दिपकराजले अन्य टेलिभिजन भन्दा पनि सरकारी च्यानल बाटै ल्याउने तर निरन्तर अगाडि बढ्ने सहमति मिडियोहव सँग भएमा मात्र आउने बताए ।

‘जिरे खुर्सानी’ पनि सधैका लागी बन्द, के भन्छन् निर्माता जितु नेपाल ?
नेपाल टेलिभिजनबाट हरेक सोमबार राती प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला जिरे खुर्सानी भने अब नआउने भएको छ । तर त्यहि समयमा जिरे खुर्सानीकै कलाकारहरु द्धारा बनाइएको टेलिश्रृंखला ब्रेक फेल प्रसारण हुने भएको छ । निर्माता जितु नेपालले दिएको जानकारी अनुसार जिरे खुर्सानीलाई दिनुपर्ने रकम मिडिया हवले नदिएको कारण जिरे खुर्सानी रोकिएको र अब जिरे खुर्सानी प्रसारण नहुने बताए । जिरे खुर्सानीकै समयमा प्रसारण हुने ब्रेक फेललाई कलाकार शिवहरी पौडेलले निर्माण गरेका हुन् । ब्रेकफेलमा जिरे खुर्सानीकै कलाकारहरु रहने छन् ।

-गोपिकृष्ण चापागाई ।