भूकम्प पीडित माझ उज्यालो छर्दै सुबिसु, २०० परिवारका विद्यार्थीलाई सोलार बत्ती वितरण

...

पुस, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले जाजरकोटका भुकम्प पिडितलाई सोलार बत्ती वितरण गरेको छ । कम्पनीले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर दुईसय परिवारका बिद्यार्थीलाई सोलार बत्ती वितरण गरेको हो । 

गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले पृथक् ढङ्गले वार्षिकोत्सव मनाएको हो ।  भूकम्प पश्चात पीडितहरूले भोग्नु परेको विशेष समस्यालाई सम्बोधन गर्नेगरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  वितरण गरिएका सोला बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिनेछ । 

subisu-internet-artist-khabar-news (3).jpg

प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउद सहित सुबिसुको आठ सदस्यीय टोली राहत स्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो । जाजरकोटको नलगाड स्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको थियो ।

“जाजरकोटको पुग्ने कुरा केवल भौगोलिक यात्राको विषय मात्र थिएन, प्रतिकूल परिस्थितिको सामना गरिरहेका भूकम्प पीडितहरूको जीवनमा अर्थपूर्ण प्रभाव पार्ने एउटा प्रतिबद्धता समेत थियो,” सुबिसुले भनेको छ । 

subisu-internet-artist-khabar-news (1).jpg

“हामीले विद्यार्थीलाई आइपरेको चुनौती सामना गरी आफ्नो उज्यालो भविष्य निर्माण गर्ने कार्यमा सशक्तीकरण गर्ने उद्देश्यका साथ रातको समयमा पढ्न आवश्यक माध्यम (सोलार बत्ती) उपलब्ध गराएका हौं । ”

व्यावसायिक उत्तरदायित्वलाई व्यावसायिक हिसाबकिताब भन्दा पर हुने भन्दै सुबिसुले २३ औं वार्षिकोत्सव मनाउने कुरा जाजरकोटका जनताको अदम्य भावनाको सम्मान भएको उल्लेख गरेको छ ।