‘गोर्खा वारियर’ फागुन ११बाट नेपालमा रिलिज हुँदै

...

पुस, काठमाडौँ । बेलायतमा रेड कार्पेट प्रिमियर गरिसकेको नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब ११ फागुनबाट नेपालमा प्रदर्शन हुने भएको छ । निर्देशक मिलन चाम्सले चलचित्र भारत र दक्षिण कोरियाको रिलिजकालागि पनि बिक्री भईसकेको जानकारी गराए । यस्तै अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले गोर्खा वारियरलाई भारत र कोरियाबाहेक विश्वव्यापी रुपमा रिलिज गर्ने बताइएको छ ।

नेपाली, हिन्दी, अँग्रेजी गरी तीन भाषामा निर्माण भएको यो चलचित्रलाई अब कोरियन भाषामा पनि रिलिज गरिने भएको छ । कोरिया रिलिजको लागि कोरियन भाषामा डबिङको कार्य पनि धमाधम भईरहेको निर्देशक चाम्सले जानकारी गराएका छन् ।

दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा यो चलचित्रमा समेटिएको छ । सँसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको सँघर्षमा आधारित यो चलचित्रले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई गोर्खा वारियरले पर्दामार्फत विश्वका दर्शकमाझ पु¥याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।

यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै डेब्यु गरेका हुन् । रितेससँगै यो चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।