‘अगस्त्य’मा नाजिरको ५ फरक गेटअप

...

पुस, काठमाडौँ । फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्यः च्याप्टर १’को फस्टलुकले निकै चर्चा पायो । नायक सौगात मल्लको दुई फरक गेटअपको पोष्टरले निकै चर्चा पाएपछि फिल्मको हाइप पनि ह्वात्तै बढेको छ ।

अब, यो फिल्मको निर्माणपक्षले नायक नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ ।सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ । 

नाजिरले चलचित्रमा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए । नाजिरको गेटअप हेर्दा पनि उनले चलचित्रका लागि निकै मिहिनेत गरेको देखिन्छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, नाजिरले यो चलचित्रका लागि २० केजी तौल बढाएका थिए । सार्वजनिक पोष्टरमा नाजिरको चलचित्रमा सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्रमा नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । 

यो चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने आँकलन भइरहेको छ । कतिपय फिल्मीकर्मीले ‘अगस्त्य’ नेपाली चलचित्रका लागि ट्रेन्ड सेटर बन्ने विश्लेषण समेत गरिरहेका छन् ।