माघ, काठमाडौँ । अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन आगामी वर्षको बैशाख १४ गतेबाट गरिने भएको छ । केकीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र बैशाखमा रिलिज गर्न लागेको जानकारी दिइन् ।
८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो चलचित्र निर्माण गरिएको छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गरेका हुन् ।
चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।
सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने चलचित्रलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।
केकी स्वयंम निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।