नेपाली फिल्ममा एउटै बिषयवस्तु हुन्छ भन्ने आरोपलाई ‘उपहार’ले गलत साबित गर्छः रेखा थापा

...

फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाको अभिनय र लगानी रहेको चलचित्र ‘उपहार’ यहि फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।  यतिबेला अमेरिकामा रहेकी अभिनेत्री थापाले उतैबाट प्रचारप्रसार गरिरहेकी छिन् । यसैक्रममा उनले नेपाली फिल्ममा एउटै खालका बिषयवस्तु हुन्छन् भन्ने आरोपलाई उपहारले गलत साबित गरिदिने बताएकी छिन् । ‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको छ ।

‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो फिल्म हेर्दा आम दर्शकले नयाँ उर्जा पाउनुहुनेछ ।’ रेखाले भनेकी छिन् । नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेकी छु, त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्नेछ । हाम्रो फिल्म आँखालाई शितल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ ।’

रेखाले निर्देशन र अभिनय गरेको चलचित्र ‘मालिका’ पाँच वर्षअघि दर्शकमाझ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । ‘मालिकापछि मैले अभिनेत्रीकै रुपमा चलचित्रमा त काम गरिनँ । तर एक दुईवटा फिल्मका गीतमा केमियो गरें’, उनी भन्छिन्, ‘फिल्ममा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’

mahajatra.JPG

रेखाले ‘उपहार’मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । फिल्ममा नारीमात्र होइन, पुरुष पनि पीडित छन्न् भन्ने कुरा देखाइएको उनले सुनाइन् । ‘५–१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा चलचित्रबनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’, उनले भनिन् ।

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।