अफगान युद्धमा गोली लागेर बेहोस भएको सुनाउँदा भावुक भए नायक रितेश

...

फागुन, काठमाडौँ । ११ फागुनबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’को अभिनेता रितेश चाम्सले मँगलबार एक समारोहमा आफ्नो आँशु रोक्न सकेनन् । यो चलचित्रको निर्माण टिमले सञ्चारकर्मीलाई धन्यबाद ज्ञापनगर्न राखेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा पत्रकारद्धारा सोधिएको एउटा प्रश्नको जवाफमा रितेशले आफ्नो बास्तविक कथा सुनाउँदै सबै भावुक भएका हुन् ।
आफु बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना उनले यस अघि लुकाउँदै आएका थिए । युद्धको दर्दनाक पीडा उनले अहिलेसम्म खोल्न चाहेका थिएनन् । आफ्नो त्यो कालो इतिहाँस भएकाले सुरुमा उनले बताउन चाहेनन् । सञ्चारकर्मीको आग्रहमा उनको त्यो घटनाबारे निर्देशक मिलन चाम्सले केही खुलासा गरेपछि अभिनेता रितेशले आफ्नो कथा यसरी सुनाए ।

‘म गाउँमा सामान्य परिवारमा जन्मेको हुँ । स्कुलको पढाई सकिएपछि बैदेशिक रोजगारीमा जाने निर्णय गरेँ । मसँग अमेरिका, अष्ट्रेलिया जाने पैसा नभएका कारण बेलायती सैनिकमा भर्ती लाग्नुबाहेक अरु बिकल्प थिएन, त्यसैले म बेलायती सेनामा भर्ती लागेँ ।’

यसरी बेलायती सेनामा सिपाहींको रुपमा छानिएपछि नेपालबाट बेलायत जाने क्रममा रितेशले पहिलो पटक हवाईजहाज चढ्ने अबसर पाए । त्यतिबेला आकाशमा यती ठुलो जहाज उडेको देखेर उनी छक्क परे । त्यो जहाज कसरी उड्छ भनेर उनमा कौतुहलता जाग्यो र भविष्यमा आफुले पनि जहाज उडाउने सपना उनले सोही दिन साँचे ।

062A9732.JPG

‘बेलायती सेनामा केही वर्ष जागिर खाएपछि मैले बिदा लिएर पाईलट कोर्ष गर्ने निर्णय लिएँ र त्यो कार्षको तयारीमा जुट्दै थिएँ । एक्कासी मलाई अफगानिस्तानको युद्धमा पठाउने निर्णय मेरो अफिसरहरुले गर्नु र त्यो निर्णयलाई मैले मान्नु बाहेक अरु  बिकल्प थिए ।’ त्यतिबेला अफगानको युद्धमा बृटिस गोर्खा सेनाका नेपालीहरुको मृत्यु र घाईतेको खबर आईरहेको थियो । तैपनि शिरमा कात्रो बाँधेर गोर्खालीहरुको इज्जत जोगाउन र कतव्र्य पुरा गर्न उनले अफगानिस्तान जाने निर्णय गरे ।

‘हामी अफगानिस्तानको मरुभूमिमा झर्दै थियौं, जताततै धुलो उडेको थियो । हाम्रो हेलीकोप्टरमाथि लगातार तालिवानले गोली बारुद बषाएका थिए । हेलिकोप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा मेरो तिघ्रामा कतीबेला गोली लाग्यो मैले वास्तै गरिन् । तिघ्रामा पालेको जस्तो लागेको थियो, एकछिनमा म रगताम्मे भएछु भने मलाई छाडेर हेलिकप्टर माथि आकाशमा उड्न थालेको थियो । तर माथिबाट एकजना अफिसरले मलाई तर लडेको देख्नु भएपछि उहाँहरुले सबैको ज्यान जोखिममा पारेर भएपनि मलाई त्यहाँबाट उद्दार गरेर हेलिकोप्टरमा लानु भएछ । म चार दिनपछि होसमा आउँदा अस्पतालको बेडमा थिएँ र मेरो एउटा खुट्टा नचल्ने अबस्थामा थियो ।’

मुलुकका १२० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भईरहेको चलचित्र गोर्खा वारियरले पाँचौं दिन पनि राम्रो व्यापार गरिरहेको यसका निर्देशक मिलन चाम्सले सो क्रममा जानकारी गराए । वितरक व्यबस्थापक करण क्रेजीका अनुसार शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले प्रदर्शनको ४ दिनमा १ करोड ५१ लाख रुपैयाँको व्यापार नेपालमा गरेको छ ।

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको चलचित्र गोर्खा वारियरमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।