चलचित्र ‘रङ्गेली’मा तडकभडक नियन्त्रण गर्ने प्रहरी अफिसर प्रविण

...

फागुन, काठमाडौँ । नेपाली नाटक तथा चलचित्रको लोकप्रिय नाम हो प्रविण खतिवडा । अभिनेता खतिवडाले थुप्रै नाटक तथा चलचित्रमार्फत आफ्नो अभिनय देखाइसकेका छन् । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘रङ्गेली’मा पनि उनले अभिनय गरेका छन् । यो चलचित्रमा उनी प्रहरी अफिसरको भूमिकामा देखिदैछन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’ हुन् । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै गोलाबारी गरिरहेका देखिन्छन् । प्रविणको भनाइमा उनको ‘प्रहरी अफिसर’ चरित्र अनुशासनमा नबस्ने किसिमको छ ।

‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । त्यो चरित्रमा घुस खानेदेखि लिएर फिल्मी शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । फिल्मी हिसाबले नै प्रस्तुत भएको छु । जुन कुरा ट्रेलरमा पनि देखाइएको छु’, प्रविण भन्छन् । प्रविणका अनुसार उनलाई ‘रङ्गेली’मा तडकभडक भइरहेको बेलामा त्यो तडकभडकलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा चलचित्रमा देख्न सकिनेछ ।

Praveen Khatiwada Rangeli2.jpeg

‘मैले त्यो माहौललाई आफ्नो हातमा लिनलाई अथवा त्यो माहौल सुल्झाउनलाई मैले गर्ने चलखेल पनि चलचित्रमा छ । पात्रलाई घुमाउने, कसलाई ठोक्ने, कसलाई जोगाउने भन्ने निर्णय लिने मेरो चरित्र छु’, प्रविणले बताए । उनलाई प्रहरी अफिसरको चरित्र निभाइरहँदा निकै मज्जा लागेको रहेछ । उनका अनुसार आफ्नो चरित्र निभाउनु अघि त्यसमा देखिएका ‘पोलिटिकल्ली इनकरेक्ट’ कुराहरूलाई कसरी डिल गर्ने भनेर अन्य कलाकार र निर्देशकसँग छलफल गरिएको थियो ।

प्रविण आफ्नो चरित्रलाई दर्शकले चलचित्रमा हेरिरहँदा एक दुई वटा काम यसले ठिकै गर्‍यो भन्ने अनुभव हुनसक्ने अनुमान लगाउँछन् । ‘एक दुई वटा काम यसले गलत गरेको छ भन्ने पनि लाग्छ होला । प्रशासनसँग शक्ति हुँदो रहेछ । त्यो शक्तिले कहीँ न कहीँ अलिकति दमनको स्थिति ल्याउँदो रहेछ । चाहे त्यो पात्रलाई होस् या आफ्नै समाजमा ज्यूँदा पात्रहरूलाई होस् । शक्तिले अलिकति डोमिनेट गर्दो रहेछ । त्यो खालको प्रवृत्ति चाहिँ हुनुहुँदैन । मलाई प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखेमा मात्र समाजमा शान्ति सुरक्षा हुन्छ भन्ने लागेको छ’, प्रविण भन्छन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।