अनमोलले सार्वजनिक गरे आफ्नो जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक

...

चैत, काठमाडौं । नायक अनमोल केसीले आफ्नो जन्मदिनमा आफू अभिनित चलचित्र ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरेका छन् । उनले जन्मदिनको उपहार भन्दै सामाजिक सन्जालमार्फत आफ्नो चलचित्रको लुक्स सहितको फस्टलुक सार्वजनिक गरेका हुन् । आउँदो बर्षको जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको पोस्टर यसअघि सार्वजनिक हुने अनमोलका चलचित्रको भन्दा फरक देखिन्छ । चलचित्रको फस्टलुक हेर्दा फिल्मले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।

लभ स्टोरी जनरामा बनेको यो चलचित्रलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । चलचित्र ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ । साथमा चलचित्रमा रवि न्यौपाने, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।

सुयोग गुरुङकै कथा तथा पटकथा रहेको यो चलचित्रमा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ । चलचित्र ‘फर्की फर्की’लाई लिएर नायक अनमोल केसी निकै उत्साहित छन् । यो चलचित्रको कथावस्तु आफूले यसअघि काम गरेका फिल्मको भन्दा फरक रहेको भन्दै अनमोलले दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।