‘डिग्री माइला अष्ट्रेलिया र अमेरिकामा चैत ३० बाटै रिलिज हुने

...

चैत, काठमाडौं । दयाहाङ राई स्टारर ‘डिग्री माइला’ चलचित्र नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै चलचित्र सोही मितिमा रिलिज हुने जानकारी दिएको हो ।

चलचित्रलाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ । निर्माणपक्षले दिएको जानकारी अनुसार चलचित्र अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।

अष्ट्रेलियामा buyonlineticket.com.au बाट चलचित्रको टिकट काट्न सक्नेछन् । यसैगरी यो अमेरिकाका ४० बढि शहरमा रिलिज हुँदैछ। त्यहाँ ‘डिग्री माइला’को करिब ४ सय शोहरु हुने जानकारी निर्माणपक्षले दिएको छ।

रामबाबु गुरुङ निर्देशित चलचित्रले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा फिचर भएका दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । चलचित्रमा आँचल शर्मा दयाको जोडी बनेकी छन् । चलचित्रमा उनीहरुको अन्तरजातिय प्रेम हेर्न सकिनेछ ।

उनीहरुका अलावा चलचित्रमा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ । चलचित्रलाई यस वर्ष बल्कबस्टर व्यापार गर्नसक्ने चलचित्रको सूचिमा राखिएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । चलचित्र सोही नामको नाटकमा आधारित रहेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

चलचित्रका कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।