‘पुजार सार्की’ अगामी जेठ १० बाट प्रदर्शन हुने

...

चैत, काठमाडौँ ।  नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ। रिलिज मितिलाई लिएर लामो समयदेखि व्यापक चर्चा गरिएको यो चलचित्र आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन विश्वव्यापी रिलिज हुनेछ।

चलचित्रका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने स्पष्ट पारे । समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने योजनामा रहेका निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन्।

एक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेता द्वय आर्यन सिग्देल र पल शाह आ(आफ्नो चरित्रमा छन्। अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ। पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ। चौतारोमा बसी पलले गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन्।

यस चलचित्रमा अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्। सार्वजनिक दुवै पोस्टरमा अभिनेत्रीहरू भने छैनन्। अभिनेत्रीहरूको पात्र झल्काउने पोस्टर पुनः सार्वजनिक गर्ने निर्देशक राउतले बताए। मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको ुपुजार सार्कीुलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल,  प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ। 

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ुपुजार सार्कीुका मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन्। राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्। यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दै छ।