नयाँ वर्षको अवसरमा ओटिटीमा आयो ‘यौटा सपनाको अवसान’

...

बैशाख, काठमाडौँ । नाटक ‘यौटा सपनाको अवसान’ नयाँ वर्षको अवसर पारेर आजैदेखि वेब सिरिजको रुपमा प्रिमियर भएको छ । यो नाटक गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको थियो । महिना दिनसम्म हाउसफुल रहेको नाटक कान्तिपुर सिनेमाजमा प्रसारण भएको हो ।  
निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले शुक्रबार ट्रेलर सार्वजनिक गर्दै शनिबारदेखि सिरिज प्रसारणमा आउने जानकारी गराएको थियो । निर्माण टिमले यसअघि पोस्टर सार्वजनिक गर्दै  नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरुप यसलाई ओटिटीमा रिलिज गर्न लागिएको जनाएको थियो । ट्रेलरमा सिरिजका मुख्य कलाकारहरु दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागार्इँ अटाएका छन् ।

नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए ।  ‘ नाटकलाई चलचित्र जस्तो धेरै समय हलमा चलाउन मिल्दैन किनकि नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ । यही कारण हामीले दर्शकको चाहाना हुँदा हुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ । उसबेला हेर्न छुट्नु भएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौँ’, निर्माता गोविन्दले बताए । 

 वरिष्ठ नाटय निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । १ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ । नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुनेछ । 

नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ ।