प्रकाश सपूतले बनाउने ‘वसन्त’ चलचित्रको घोषणा, प्रकाशसँगै स्वस्तिमा खड्का मुख्य भूमिकामा

...

बैशाख, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतले पहिलोपटक निर्देशन गर्न लागेको चलचित्र ‘वसन्त’को निर्माण घोषणा गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच शीर्षक भिडिओ सार्वजनिक गर्दै उनले आफूले बनाउन लागेको चलचित्रबारे जानकारी दिएका हुन्। चलचित्रमा प्रकाशकै लेखन र निर्माण रहनेछ । 

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा उनको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का देखिनेछिन्। साथमा अभिनेता अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय रहनेछ । चलचित्रमा जातिय बिभेदको कुरालाई उठान गरिने जानकारी दिइयो । सार्वजनिक टिजरले पनि चलचित्रको कथालाई प्रष्ट पारेको छ । 

कार्यक्रममा प्रकाशले सुरुको चलचित्रमार्फत आफ्नो कथालाई उठान गरेको बताए । उनले भने, मैले अन्य कर्मसियल चलचित्र पनि बनाउँ कि भनेर सोचेको थिएँ तर सुरुको चलचित्र आफ्नै कथाबाट सुरु गरौं भन्ने लाग्यो । यसमा अधिकांश मेरै कथा छ भन्दा हुन्छ । 

उनले चलचित्र ‘वसन्त’ लाई ‘वर्ण व्यवस्थाले सदियौंदेखि न्याकिएको एउटा ‘तप्का’ को कथा भनेका छन्। २०८१ सालको चैते दसैंमा फिल्मलाई प्रदर्शनमा ल्याइनेछ। सुनिल वि.क. को सह–निर्देशन रहने चलचित्रमा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन कार्यकारी निर्मातामा रूपमा छन् ।  

सांगीतिक क्षेत्रमा लोभलाग्दो चर्चा कमाएका प्रकाशले नारायण रायमाझी निर्देशित ‘परदेशी २’ बाट अभिनेताका रूपमा फिल्ममा डेब्यु गरेका थिए। गतवर्ष प्रदर्शनमा आएको यो फिल्म सुपरहिट भएको थियो ।