‘फर्की फर्की’को प्रमोशनमा ब्यस्त अनमोल

...

जेठ, काठमाडौं । यहि जेठ १० गतेबाट चलचित्र फर्की फर्की प्रदर्शनमा आउँदैछ । यसै चलचित्रका मुख्य अभिनेता हुन् अनमोल केसी । अनमोल अहिले चलचित्रको प्रमोशनमा निकै ब्यस्त छन् । उनले आफ्नो चलचित्र बारे बिभिन्न ठाउँमा पुगेर जानकारी गराइरहेका छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । 

अनमोल ‘फर्की फर्की’ प्रति आशावादी छन् । झण्डै एक वर्षपछि दर्शकमाझ आउन लागेका उनी दर्शकको माया पाउनेमा आफू विश्वस्त छन् । ‘कलाकारको दायित्व भनेको फिल्म रिलिज नहुन्जेलसम्म मेहनत गर्ने हो, फिल्म चलेपछि कस्तो होला वा नहोला भन्ने आशा राख्नु दर्शकको हातको कुरा हो’, उनी भन्छन् ।

मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा हुने उनको बुझाई छ । ‘हामीले जति मेहनत गरे पनि कहिलेकाँही मेहनतको फल पाइन्छ, कहिले पाइँदैन पनि । म अहिलेसम्म मेरा फिल्म सुपरहिट हुँदा न धेरै मात्तिएको छु, न त आत्तिएको नै’, अनमोल भन्छन् ।

अनमोलको अनुभवमा उनका लागि ‘फर्की फर्की’ मानसिक रुपमा चुनौतिपूर्ण नै थियो । किनकी उनले गत वर्ष मानसिक रुपमा कमजोर पनि थिए । ‘मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो । त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानें’ उनी भन्छन् ।

चलचित्रको ट्रेलरमा अनमोलले आफूलाई ‘भगवान’ भनेको देखाइएको छ । उनले फिल्मको संवादमा आफू भगवान भने पनि आफूलाई चाहिँ भगवान नमान्ने गरेको बताए । ‘जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो सन्दर्भमा आफूले आफूलाई जहिल्यै पनि भगवान महशुस गर्ने हो । यो रामायण वा महाभारतको जस्तो भगवान जस्तो होइन ।

चलचित्रको पात्रले ऊ भगवान हो भन्ने चिजमा विश्वास गर्छ’, अनमोल भन्छन्, ‘जब कसैलाई आफूलाई महान अनुभव हुन्छ कि यो दुनियाँ नै मेरो कब्जामा छ । उसले जब मैले जे गरे पनि सही हो, म गलत हुन सक्दैन अनुभव गर्छ, तब नै आफूले आफूलाई भगवानको महशुस गर्छ । चलचित्रको स्क्रिप्टमा भगवान भन्ने कुरा आए पनि चलचित्रमा म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा देखाइएको छ । चलचित्रले मास अडियन्सले नै रिलेट गर्न सक्छ ।’

अभिनेत्री जसिता गुरुङसँग अनमोल पहिलोपटक यो चलचित्रमा स्क्रिन शेयर गर्दैछन् । उनका लागि जसितासँगको सहकार्य सहयोग रहेछ । दर्शकले राम्रो जोडीका रुपमा आफूहरुलाई चित्रण गरेको अनमोलको बुझाई रहेछ । 

चलचित्रका निर्देशक सुयोग गुरुङसँग उनको सहकार्य अनुभव राम्रो रहेछ । आफ्ना सुरुदेखिको फिल्म नयाँ निर्देशकसँगको सहकार्यले सुपरहिट भएकाले ‘फर्की फर्की’मा पनि त्यो आशा अनमोलमा जीवित नै रहेछ ।