जेठ, काठमाडौँ । चलचित्र पुजार सार्कीमा मुख्य अभिनय गरेका अभिनेता आर्यन सिग्देलले ब्राह्मण चरित्रमा देखिँदै छन् ।आर्यन ब्राह्मण समुदायको र पिता पण्डित भएता पनि उनमा पूजा पाठको गुण केही थिएन । ‘म आउट अफ ट्र्याकको मान्छे हुँ। मेरो बुवा पण्डित हुनुहुन्छ। बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ। म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु’, आर्यन भन्छन् ।
यहि जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ । चलचित्रका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए । चलचित्रका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो । अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले ।
‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागे पछि मैले दिएँ। त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो। तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो’, आर्यनले बताए।आर्यनको लुक्स बाहिरिएपछि बुवा समेत खुसी भए। ‘निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो’, आर्यनले सम्झिए ।
यस चलचित्रमा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन् । अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन्। यसमा आर्यन पुजारी छन्। उनको प्रेम अञ्जनासँग हुन्छ। “यस चलचित्रको भूमिकामा मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो। मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ। त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन”, आर्यनले कथाबारे बताए ।
दिनेश राउतले निर्देशन गरेको चलचित्रमा आर्यनसँगै प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परिक्षा लिम्बु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।