‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली अनुबन्धित

...

जेठ, काठमाडौँ । नयाँ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रमा कलाकारहरूको लाइनअप पूर्णहुने क्रममा रहेको छ ।

निर्माण पक्षले फिल्मका लागि मुख्य भूमिकामा यस अघि गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो । प्रकाश र मुकुनपछि अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको थियो ।

चलचित्रमा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले बताए ।

यही जेठ २१ गतेबाट छायांकनमा जाने तयारी रहेकोयस चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।

सरोज पौडेलको लेखक तथा निर्देशक रहेर सोसल–ड्रामा बन्ने चलचित्रका मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बताइएको छ ।

अभिनेता र अन्य कलाकारहरू फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन् ।
चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ ।

रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ । यो चलचित्रको प्रदर्शन मिति आउँदो वर्षलाई लक्षित गरेको छ ।