‘एक्सिस’ ब्याण्ड शुक्रबार दरबारमार्गस्थित क्लब नेक्ससमा गुञ्जिने

...

असार, काठमाडौँ । विश्व संगीत दिवसको अवसर पारेर सांगीतिक व्याण्ड ‘एक्सिस’ भोलि शुक्रबार दरबारमार्गस्थित क्लब ‘नेक्सस’मा गुञ्जिने भएको छ । व्याण्डले ९० मिनेटको प्रस्तुतीमा ‘अधुरो प्रेम’, ‘हे मोरी’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘एकचोटी’ र ‘सात समुन्द्र पारी’लगायतका गीत सुनाउनेछ ।

व्याण्डमा सन्दिप विश्वकर्मा (संस्थापक÷भोकलिस्ट), अमूल्य श्रेष्ठ (ड्रम), सजिन मर्जन (बास), रोशन लामा (गीतारिष्ट) र निखिल सिकर्मी (गितार) छन् ।

व्याण्डले गत बुधबारमात्र नेपाल टुर भिडियो समेटिएको गीत ‘घर गाउँ’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको थियो । भिडियोको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवक (पीभीई नेटवर्क) हो ।

गीतको भिडियोमा व्याण्डले पोखरा, नारायणघाट, बुटवल, झापा, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका स्थानमा गरेको कार्यक्रमको दृश्य समेटिएको छ ।

पीभीई नेटवर्कले व्यवस्थापन गरेको व्याण्ड हालै काठमाडौंमा सम्पन्न ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड २०८०’मा ‘बेस्ट बेण्ड’ विधाको मनोनयनमा परेको थियो ।

पीभीई नेटवर्कका विकेश कायस्थले एक्सिसले सन् २००४ मा आफ्नो डेब्यू एलबम ‘ब्ल्याक एण्ड ह्वाइट’को गीत ‘अधुरो प्रेम’ सार्वजनिक गरेको २० वर्ष पुग्नु साथै विश्व संगीत दिवसको छेकोमा व्याण्डको कन्सर्ट हुनु संयोग मिलेको बताए ।