साउन, काठमाडौं । हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन् । राजनितिको फोहोरी खेलले देश झनै बिग्रदै गएकाले अब विकासका लागि दलगत रुपमा नभई स्वतन्त्र नागरिकको रुपमा एक हुन उनले एक लेखमार्फत आग्रह गरेका हुन् । यस्तो छ, उनले जनतामा गरेको अपिल ।
हामी जनता कस्तो भने चुनाव आएको बेलामा मेरो पार्टी यस्तो, मेरो नेता यस्तो भनेर तीन फिटमाथि उचालिन्छौं । नेता र पार्टीका लागि घरपरिवार सबै बिर्सिन्छौं । अनि तेरो पार्टीभन्दा मेरो पार्टी ठिक, तेरो नेताभन्दा मेरो नेता ठिक भनेर एक अर्काको टाउको फोर्छौं ।
–
जब चुनाव जितेर नेता जान्छन् आफ्नो गाउँमा विकास हुँदैन र हुन लागेपनि विभिन्न अवरोध खडा पर्छन् । सोचेजस्तो हिसाबले देश पनि अघि बढ्दैन, नेताले दिएको आश्वासनहरु पनि पूरा हुँदैनन् । अनि तिनै एकअर्काको टाउको फुटाउने हामी जनता चोकको चिया पसलमा जम्मा हुन्छौं, अनि ‘अनेक थरीका गफ निकालेर कुरा काट्न थाल्छौं ।’
–
वास्तवमा नेताको राजनीतिले भन्दा हामी जनता–जनताबीचको राजनीतिले गर्दा हाम्रो देश नेपाल यो अवस्थामा आइपुगेको हो । हामी खाली यो नेता त खत्रै हो, भाषण त बबालै दियो भन्ने गर्छौं । अनि चुनावमा नेता आउँदा शिर निहुराएर हजुर भन्दै आउँछन्, भोट माग्छौं, जिताएर पठाउँछौं र चुनावपछि नेताले सिन्को केही नभाँचेपछि चिया पसलमा त्यही नेताको कुरा काट्नमा मात्र सीमित रह्यौं ।
हिजो राजनीतिले भविष्यमा सबथोक दिन्छ, विकास दिन्छ, भविष्य दिन्छ भनेर राजनीतिमा होमिएका हाम्रो बुवा आमाहरुको आज कसैको छोरो छैन, कसैको छोरालाई विदेश पुर्याएको छ भने कसैको छोरालाई देशमै बेरोजगार बनाइदिएको छ ।
५० औं वर्ष राजनीतिमा बिताएका हाम्रा पुर्खाहरुको उपलब्धी यही हो ? पुर्खाहरुले सोचेको विकसित नेपाल यही हो ? अनि हाम्रा पुर्खाहरुले देख्न नपाएको नयाँ र विकसित नेपाल हाम्रो पुस्ताले पनि देख्न नपाए हामी के गर्ने, यो बारेमा पनि हामी सबैले मनन गर्ने कि ?
–
त्यसैले अब नेता र पार्टीको नाममा विद्यार्थी–विद्यार्थीबीच झगडा हैन, मजदुर–मजदुरबीच झगडा हैन, युवा–युवाबीच झगडा हैन, हामी नेपाली–नेपालीबीच झगडा हैन, हामी सबै नेपाली एक हौं र सुरु गरौं यो फोहोरी राजनीति खेलविरुद्व जनताको आन्दोलन ।
–
अब हामी सबै मिलेर यस्तो आन्दोलन गरौं जसले भाषण र विनाश हैन काम र विकास मागोस् र त्यो हो नेता र राजनीतिविरुद्व विकासको आन्दोलन । देश विकासको लागि स्वतन्त्र युवाको खाँचो छ । त्यसैले सबै पार्टी नेता त्यागेर आउनुस् छलफल गरौं र मागौं विकास, अनि सुरु गरौं विनाशको आन्दोलन । स्वतन्त्र भएर काम गरे के हुन्न ? धुर्मुस–सुन्तलीबाट सिकौं, त्यसैले बेला आएको छ, ढिलो नगरी सुरु गरौं ।