माया फेक हुन्छ जस्तो लाग्दैन, गरुन्जेलको माया त माया नै होनिः गायक सुनिल गिरी

...

कार्तिक, काठमाडौं । आज भन्दा तिनबर्ष अघिबाट गुन्जिएको ‘को होला त्यो म सँग आँखा जुधाउने’ बोलको गीत आजको दिनसम्म पनि उत्तिकै मात्रामा गुन्जिरहेको पाउँछौं । त्यसैगीतबाट आफुलाई गायकको रुपमा स्थापित गराएका गायक हुन् सुनिल गिरी ।
sunil giri - singerगायक सुनिल गीतसंगीतको क्षेत्रमा लागेको एक दशक पुग्न लागेता पनि गायक भएर पहिलो गीत बजारमा ल्याएको भने तिनबर्ष मात्र पुगेको छ । सुनिलले सुरुमा गाएको गीत ‘को होला त्यो म सँग आँखा जुधाउने’ लाई दर्शक स्रोताले अत्यधिक मन पराएपछि गायकमा स्थापित हुन धेरै सजिलो भयो । त्यसपछि पनि उनका केहि गीतहरु चर्चित छन् ।

यतिखेर गायक सुनिल गीतसंगीतमै निकै ब्यस्त छन् । पछिल्लो समय देश भित्रको कार्यक्रममा ब्यस्त रहेका सुनिललाई हामीले आर्टिस्ट खबरको कार्यालय सम्म बोलाएर गीतसंगीतको बारेमा केहि अन्तरंग कुराकानी गरेका छौं ।
गायक सुनिल गिरीसँग आर्टिस्ट खबर डटकमका लागी गोपिकृष्ण चापागाईले गर्नुभएको कुराकानी ।

आज भोलीको ब्यस्तता केमा छ ?
खासै नयाँ त केहि होइन, देश भित्रकै कार्यक्रमहरु छन् । कार्यक्रमहरु मै ब्यस्त छु । साथै पढ्दै पनि छु । गीतसंगीत र पढाई छ भन्नुपर्छ आज भोलीको ब्यस्तता ।

singer-sunil-giriगायक भएको नाताले सोध्न चाँहे, संगीत के रहेछ तपाईको बिचारमा ?
हामीले पढ्दा त गीतसंगीत भनेको सुर, लय र तालको समिश्रण हो भनेर पढ्यौं । म संगीतको बिद्यार्थी पनि हुँ । तर मेरो आफ्नो ब्यक्तिगत बिचारको कुरा गर्दा गीतसंगीत आफ्नो मनमा उब्झिने भावना हो, त्यही भावनालाई सुर ताल दिएर गीत बनाइन्छ ।

सुनिल गिरी भनेर नामले नै चिन्ने अलि कमै हुनुहुन्छ होला तर तपाईको गित नसुन्ने सायदै हुनुहोला । कस्तो लाग्दो रैछ सुरु सुरुमा आँफुलाई नचिनेर आफ्नो गीतलाई बढी चिनिदिँदा ?
पक्कै पनि आँफुले गाएको गीत हिट होस् भन्ने त सबैलाई हुन्छ । सुरु सुरुमा गीत हिट हुन्छ तर गीत गाउने गायकलाई चिन्नु हुन्न तर पनि मलाई त्यस्तो नराम्रो लाग्दैन किनकी सुरु हुँदा गायकको नाम झ्याप्पै त कसैलाई पनि दिमागमा आईरहने हुँदैन त्यो बिस्तारै चिन्नुहुन्छ भन्ने लाग्थ्यो । तै पनि आफ्नो गीत लाई चिन्नु भनेको आँफुलाई चिनेको हो त्यसैले खुसी लाग्छ ।

तपाईले अहिलेसम्मका तपाईका हिट गीतहरुको नाम लिनु पर्यो भने ?
अब दर्शक स्रोताले त धेरै गीतहरु मन पराइदिनु भएको छ । तर पनि अलि हिट गीतहरुको नाम लिनै पर्दा ‘को होला त्यो म सँग आँखा जुधाउने’ भईहाल्यो । त्यसपछि ‘देउराली भन्ज्याङ’, ‘तिमी आउँछौं कि’, ‘लेकाली माया’ जस्ता गीतहरुलाई दर्शक तथा स्रोताहरुले राम्रै मन पराइदिनुभएको गीतहरु हुन् ।

‘को होला त्यो म सँग आँखा जुधाउने’ यो दिन कसरी फुर्यो ?
मैले कुनै पनि गीतहरु लेख्दा प्राय आँफुले देखेको भोगेको कुराहरुलाई उठाउने गर्दछु । जहाँ केहि कुरा देख्नु त्यसलाई गीतमा उतार्ने गर्दछु । यो गीत पनि एक दिन साँझ भइसकेको थियो, स्वयुम्भुको ह्वाइट गुम्बामा पुग्दा एउटा केटी मान्छेले मलाई हेरीरहिन् । आँखा जुधे जस्तो भयो अनि त्यहि कुरालाई मैले मेरो डायरीमा उतारेको हुँ । त्यो समयमा संगीत सिक्दै थिए पहिलो पटक गीत निकाल्ने तयारी गरेँ, हेरौं कस्तो हुन्छ भनेर गर्दा पहिलो कोसेलीलाई नै दर्शक स्रोताले अत्यधिक मन पराइदिनु भयो ।

तपाईका गीतहरु सदाबहार हुन्छन् नि । कुनै ठाउँ, बस्तु, चाड बिशेष हुँदैनन नि किन ?
मैले गाउने गीतहरुमा मेलोडीलाई निकै ध्यान दिने गर्दछु । गीत बजारमा आएपछि सकेसम्म दर्शक स्रोताको मनमा बसोस् भन्ने हुन्छ । मैले मेरो निर्णयमा मात्र गीत निकाल्दिन पहिले केहि साथीहरुलाई सुनाउँछु, अरुलाई मन परेपछि मात्र बजारमा ल्याउने गरेको छु । त्यस्तो ठाउँ बस्तु बिशेष नगाउने भन्ने त होइन, अहिले सम्म त्यस्तो गीत नगाएको भएर होला त्यस्तो बुझ्नु भएको ।

गायकमा स्थापित हुनेदिनसम्म आइपुग्दा संघर्ष धेरै गर्नुपर्छ भन्छन्, तपाईलाई कत्तिको संघर्ष गर्नुपर्यो ।
म तनहुँ जिल्लामा जन्मिएको हुँ । एउटा गाउँबाट आएको मान्छे गायक बन्छु भन्दा घरपरिवारको पनि त्यो बेलामा त्यति सपोर्ट हुन्थेन । गाउँघरमा लोकगीतहरु गुन्जिने ठाउँमा म पप् गीत गाउँछु भनेर हिड्दा धेरै गाह्रो भएको थियो । घरमा पप् गायक बन्छु भनेर मलाई अनुमति त दिनुहुन्थेन । त्यसैले पनि काठमाडौंमा एसएलसी पछिको उच्च शिक्षा पढ्ने भनेर घरबाट निस्केर काठमाडौं आएपछि आफ्नो पढाई सँगसँगै संगीतको क्लासहरु पनि लिएँ । र काठमाडौं आएपछि पनि धेरै दुख गर्नुपर्यो । कसैलाई चिनेको थिएन, कोठामा एक्लैबस्दा खान समेत पकाउन नआउने भएकोले धेरै गाह्रो पनि थियो । त्यो बेलाका अग्रज दाजुहरुलाई भेट्न जान्थे उहाँहरुले गाएको हेर्थे, रियाज गरेको हेर्थे त्यसरी नै अगाडि बढ्दै आएको हु ।

देश बिदेशको कार्यक्रमहरुमा कत्तिको भ्याई नभ्याई छ ?
यतिखेरको समयमा त ब्यस्त नै छु । देश बाहिरका केहि देशहरु र देश भित्रका अत्यधिक कार्यक्रमहरुबाट बोलाउने गर्नुहुन्छ । देश बाहिरका केहि देशहरुबाट अहिले पनि भन्नुहुन्छ तर कतिपय कुराहरु मिल्दैनन् । घुम्न आउनुस भन्नुहुन्छ तर मलाई घुम्नकै लागी मात्र बिदेश गएर गीत गाउनुछैन भनेर गएको छैन ।

गायक भईसकेपछि प्रेम प्रस्ताव धेरै आउँछन् भन्छन्, तपाई पनि युवा नै हुनुहुन्छ, प्रेमको मामिलामा के छ तपाईको कुरा ? प्रेममा हुनुहुन्छ ?
गीतसंगीतको क्षेत्रमा अथवा कलाकारिताको क्षेत्रमा लागिरहँदा प्रेम भन्ने कुरा साधारण हुन्छ । दर्शक तथा स्रोताले गर्ने प्रेमलाई मैले बिशेष ठान्दछु । हामीलाई उहाँहरुको प्रेम जहिले पनि आवश्यक हुन्छ । र तपाईले भन्नुभएको अर्को प्रेम जुन जीवनसँगै जोडिएर गरेको प्रेम हुन्छ त्यसते प्रेममा त परेको छैन अहिले सम्म । धेरैले माया गर्छु भन्नु त हुन्छ, मेरो बिचारमा माया फेक हुन्छ जस्तो लाग्दैन । किनकी गरुन्जेलको माया त माया नै होनि ।

gopi-krishna-chapagain-and-singer-sunil-giriतपाईले एकल गीत बढी गाउनु भएको छ नि ? एकलमै जोड हो कि ?
हैन अहिले सम्म गाएको हिसाबमा त एकल गीत नै बढी छन् । र बजारमा आएका गीतहरुमा अहिले सम्म २ वटा मात्र दुईजनाको स्वरमा आएको छ गीत । तर मेरो एकल स्वर भएका गीतहरु नै धेरै रुचाइएको भएर पनि एकलमा अलि जोड दिएको हुँ ।


हेर्दा त तपाई पनि मोडल भन्दा कम हुनुहुन्न, आफ्नो गीतमा आँफै मोडलिङ गरौं भन्ने लाग्दैन ?
हैन मैले गाएको गीतमा आफ्नैले मोडलिङ गर्नुपर्छ भन्ने छैन । फेरी मैले गाएका गीतहरुमा कसलाई राख्दा राम्रो देखिन्छ र दर्शक स्रोताले माया गर्नुहुन्छ त्यो हिसाबमा राख्नेहो । आँफै मात्र खेलौं भन्ने त लाग्दैन । अहिलेसम्म मैले गाएको एउटा गीतमा चाँहि अभिनय गरेको छु, दर्शक स्रोताले माया गरिदिनुभएको छ । प्रतिक्रिया राम्रो दिनुभएको छ । हेरौं भोलीका दिनहरुमा के हुन्छ ।

अन्तमा, आगामि योजना के छ, कुनै नयाँ गीत आउँदै छ कि ?
भर्खर मात्र नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको अभिनय रहेको एकगीत बजारमा ल्याएको छु, त्यस गीतलाई पनि दर्शक स्रोता माया गरिदिनुभएको छ । अबको योजना भनेको दर्शकले निकै रुचाइदिनुभएको देउराली भंज्याङको दोस्रो संस्करण निकालौं कि भन्ने सोचमा छु । र एउटा ‘को होला त्यो’ जस्तो मेलोडीमा एउटा गीत निकालौं कि भन्ने सोचमा पनि छु ।