चलचित्र ‘आँखा’ को टिजर सार्वजनिक

...

काठमाडौं । यसैसाता पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई सार्वजनिक प्रदर्शन मिति तोकेको चलचित्र ‘आँखा’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार निर्माण ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।

सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ । टिजरमार्फत निर्देशक जौन योन्जनले चलचित्रले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिश गरेका छन् । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको टिजरबाट प्रस्टिन्छ ।

पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सी अनि स्थानीय बासिन्दाहरूले गर्दै आएको आन्दोलनको झझल्को ‘आँखा’ टिजरले दिन्छ ।

लेखक तथा निर्देशक योन्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले उठाइरहेको सुकुम्बासी व्यवस्थापनको मुद्धा र त्यसमा उत्पन्न भइरहेको परिस्थितिलाई कथावस्तु बनाएको भान हुन्छ ।

चलचित्रको प्रमुख अभिनयमा रहेका प्रायः कलाकारहरूलाई टिजरमा स्थान दिइएको छ । यो चलचित्रमा कलाकारहरू स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।

लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह-निर्मातामा रेनुका कार्की ढोली छिन् ।

चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ ।