‘वर एण्ड वधु’को टिम पुर्वका बिभिन्न जिल्लामा प्रचारमा

...

काठमाडौँ । यही भदौ १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर फिल्मको प्रचार गरेको छ । चलचित्रका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगे ।

मोफसल टुरका क्रममा उत्साहित देखिएको फिल्मको टिमले दर्शकको उत्साहजनक साथ पाउने विश्वास गरेको छ । यो चलचित्रको छायांकन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको उनको भनाई थियो ।
चलचित्रका कलाकार किरण केसीले दर्शकले यो फिल्मलाई साथ दिएको खण्डमा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गरे । उनले भने–‘मैले काम गरेका सय बढी फिल्ममा यो १–२ नम्बरमा पर्छ । फिल्म हरेक कोणबाट उत्कृष्ट छ ।’ नायिका आँचल शर्माले ‘वर एण्ड वधु’ले दर्शकको आँखा शित्तल बनाउने दाबी गरिन् । फिल्ममा लभ, रोमान्स, कमेडी, धोका सबै कुरा भएको भन्दै उनले दर्शकले पूर्ण प्याकेजको फिल्म हेर्न पाउने बताइन् ।

यस्तै, नव–नायक विवेक कर्माचार्यले यो चलचित्रबाट आफू फिल्म क्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गरे । निर्मात्री जानुका थापाले चलचित्रको कथावस्तु मन परेका कारण नै लगानी गरेको बताइन् । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ । मोफसल टुरका क्रममा विभिन्न कलेजमा पुगेको चलचित्रको टिमलाई दर्शकले उत्साहजनक रुपमा स्वागत गरेका थिए ।